Logo

माओवादी केन्द्रलाई न्यूनतम ५० सिट चाहिन्छः हरिबोल गजुरेल (भिडिओसहित)



काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले गठबन्धन दलहरूका आआफ्नै दाबी भए पनि आफ्नो पार्टीलाई न्यूनतम ५० सिट चाहिने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “गठबन्धनमा दलहरूले आआफ्नो दाबी गरिरहेका छन् । दाबी नै थोरै गरे सिट घट्छ नै । हामीले २०७४ को संघीय निर्वाचन र यसपटकको स्थानीय तहको निर्वाचनका आधारमा सिट तय गर्ने हो । अहिले नै कसले कति दाबी गर्यो भनेर उत्तेजित हुने कुरा छैन । कांग्रेसले जस्तै भन्ने हो भने हामीले पनि ७० सिट भन्नुपर्छ । तर मैले न्यूनतम ५० भनेको छु । टिकट लिएका सबैमा त जितिँदैन नि ।”

गठबन्धनमा कांग्रेससँग माग्ने वा कांग्रेसले दिनेभन्दा पनि जित्ने आधारमा सिट लिनुपर्ने उनले बताए । गजुरेलले थपे, “सिट कसैले दिने र लिने होइन । सहमतिमा बाँडफाँट गर्ने हो । कांग्रेसले हामीलाई दोस्रो दल बनाउने होइन । बरु हामीले उसलाई पहिलो बनाइदिएका हौं ।”

अहिलेको पाँच दलीय गठबन्धनभित्र प्रोग्रेसिभ फोर्स बनाउन चाहेको पनि नेता गजुरेलले स्पष्ट पारे । उनले थपे, “यही गठबन्धनभित्र प्रोग्रेसिभ फोर्स बनाउने कुरा हो । बाबुराम भट्टराईजी पनि अर्को गठबन्धनमा जानुहुन्न जस्तो लाग्छ । सानो ठूलो जे होस्, उहाँको पनि पार्टी हो । लोसपालाई समेट्दा पनि गठबन्धन बलियो हुन्छ । हामी सकेसम्म सबैलाई समेट्न खोज्छौं ।”

प्रचण्ड चीन गएपछि वाम गठबन्धन होला भन्ने पत्रकार धमलाको प्रश्नमा गजुरेलले भने, “वाम गठबन्धन चीन वा भारले भनेर हुने होइन । मित्रदेशले सुझावसम्म दिन सक्छ । तर यसपालिको निर्वाचनमा केपी ओलीको पार्टीसँग वाम गठबन्धन हुने सम्भावना छैन ।”

साथै उनले राष्ट्रपतिले संसद्का दुवै सदनले पारित गरेको नागरिकता विधेयकमा लालमोहर लगाउने विश्वास पनि व्यक्त गरे । गजुरेलले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अघि बढ्नु सकारात्मक भएको टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot