काठमाडौं, साउन २५ । सर्वोच्च अदालतले ११ वर्ष पुरानो भ्रष्टाचार मुद्दाको मिसिल मगाउने आदेश मंगलबार गरेको छ। २०६८ साल असोज ३० गते दिनेशनाथ चालिसेसमेत ९ जनाविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दामा न्यायधीशद्वय बमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले मिसिल मगाउने आदेश दिएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध उतिबेला सर्वोच्चमा पुनरावेदन दर्ता गराएको भ्रष्टाचार मुद्दामा प्रतिवादीको तर्फबाट कानुन व्यवसायीका रूपमा हरिकृष्ण कार्कीले बहस गरेका थिए। हाल कार्की सर्वोच्चमा सहायक कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा भएका बेला ११ वर्ष पुरानो भ्रष्टाचार मुद्दाको पेसी चढेको हो।
प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद्मा महाभियोग दर्ता भएसँगै उनी निलम्बित भएपछि कायममुकायमको जिम्मेवारी दीपककुमार कार्कीले सम्हाल्दै आएका छन्। अहिले उनी कोरोना संक्रमणका कारण बिदामा बसेपछि सहायक कायममुकायमको जिम्मेवारीमा हरिकृष्ण कार्की आएका हुन्।
त्यसो त अहिले पनि मुद्दामा कानुन व्यवसायीको नाममा न्यायाधीश हरिकृष्ण कार्कीको नाम उल्लेख छ। सर्वोच्चले भने उनले यो मुद्दा हेर्न नमिल्नेमा राखिसकेको छ। पुराना भ्रष्टाचारका अरू पनि मुद्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन छन्। ५ वर्ष नाघेका ४ हजार ८ सय १९ वटा मुद्दा सर्वोच्चमा विचाराधीन छन्। त्यसमा १६ वर्ष पुराना भ्रष्टाचारका मुद्दा पनि छन्। पूर्वमन्त्री गोविन्दराज जोशीलगायतका पुराना भ्रष्टाचारका मुद्दा प्राथमिकतामा पर्न सकेका छैनन्।
चालिसेसहितका भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतको फैसलाउपर चित्त नबुझेपछि त्यसविरुद्ध अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको थियो। सर्वोच्चमा २०६८ साल चैत २१ गते न्यायाधीशहरू दामोदरप्रसाद शर्मा र गिरिशचन्द्र लालको संयुक्त इजलासमा मुद्दा पेसी चढेको थियो।
पेसी चढेको सुरुवातमै पक्षका कानुन व्यवसायीले मुद्दा स्थगित गरेका थिए। त्यसपछि २०६९ साल जेठ १४ गते पेसी चढे पनि पक्षकै कानुन व्यवसायीबाट मुद्दा स्थगित भएपछि न्यायाधीशहरू दामोदरप्रसाद शर्मा र तर्कराज भट्टको संयुक्त इजलासले झझि ९झगडिया झिकाउने० आदेश गरेको थियो।
त्यसपछि दर्जन बढी पटक पक्षकै कानुन व्यवसायीले मुद्दा स्थगित गरेका छन्। सामान्यतया कानुन व्यवसायीले ३ पटकसम्म मुद्दा स्थगित गर्ने कानुनी व्यवस्था छ। यो मुद्दामा भने १५ पटकसम्म पक्षका कानुन व्यवसायीले मुद्दा स्थगित गरेका छन्। धेरैपटक ‘हेर्न नभ्याइने र हेर्न नमिल्ने’मा परेको यो भ्रष्टाचार मुद्दा २०७७ सालमा २ पटक, २०७८ सालमा एक पटक र २०७९ सालमा २ पटक पेसी चढेको छ। नागरिक दैनिकबाट