काठमाडौं, साउन २५ । निर्वाचन आयोगले यही मङ्सिर ४ गते सोमबार हुने प्रतिनिधि र प्रदेश सभाको निवार्चनको लागि कार्यतालिका स्वीकृति गरी सोहीअनुसार तयारी अघि बढाएको छ ।
आयोगले दल दर्ताको कामसँगै कार्यतालिका स्वीकृत गरी तयारी अघि बढाएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । आयोगले आइतबार निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न आह्वान गरेको थियो ।
निर्वाचनका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुपर्ने भएकोले त्यसका लागि भदौ २५ गते लेखी पठाउने आयोगले जनाएको छ । आयोगका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरी २८ गतेदेखि मतपत्र छपाइ शुरू गरिनेछ ।
अहिले करिब एक करोड ७७ लाख मतदाता पुग्ने अनुमान छ । त्यसमा थप केही मत जगेडा राख्नुपर्ने भएकाले दुई करोड मतपत्र छाप्नुपर्ने आयोगको भनाइ छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि चार प्रकारको ८ करोड मतपत्र छाप्नुपर्ने हुन्छ ।
असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ । नेपाल समाचार दैनिकबाट