Logo

अस्पतालले यसरी गर्दछन् फोहर व्यवस्थापन



काठमाडौँ, २५ साउन । काठमाडौँ उपत्यकाका ठूला अस्पतालबाट निस्कने फोहरजन्य पदार्थलाई अस्पतालले आफै व्यवस्थापन गर्दै आइरहेका छन् । ती अस्पतालले पनि काठमाडौँ महानगरसँग समन्वयमा अस्पतालबाट निस्कने फोहर व्यवस्थापन गर्दै आइरहेका छन् ।

अस्पतालमा मानिसको उपचारमा संलग्न हुने औषधिजन्य कीटाणुदेखि मानिसका अङ्गको अस्पतालले आफैले सुरक्षित व्यवस्थापन गर्दै आइरहेका छन् । अस्पतालबाट निस्केको फोहरले अन्य सङ्क्रमण फैलिन नपाओस् भनेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले फोहरजन्य व्यवस्थापन गर्दै आएको छ । अस्पतालका निर्देशक डा मनिषा रावलले २०७२ सालबाट डेडिकेडेड होस्ट म्यानेजमेन्ट सेन्टर स्थापना गरेर अस्पतालको फोहर व्यवस्थापन गर्दै आइरहेको बताए ।

उनका अनुसार अस्पतालको फोहर व्यवस्थापनका लागि सघन उपचार कक्ष सघन उपचार केन्द्र (आइसियु) इन्चार्ज उषा देवकोटाको नेतृत्वमा फोहरको व्यवस्थापनको जिम्मा तोकिएको छ । अस्पतालले फोहर सङ्कलन गर्ने क्रममा नै वर्गीकरण गरी सङ्कलन गर्ने गरेको छ । सङ्कलन गरेको फोहरलाई अस्पतालको फोहरमैला व्यवस्थापन केन्द्रबाट निर्मलीकरण गर्ने र पुनः प्रयोग गर्न मिल्ने र नमिल्ने फोहरलाई छुट्याइ व्यवस्थापन गरिरहेको अस्पतालका निर्देशक डा रावलले जानकारी दिए ।

“हामी सरुवा रोग अस्पताल भएकोले फोहरलाई विशेष प्राथमिकतामा राखेर व्यवस्थापन गर्नुपर्दछ”, उनले भने, “मानव अङ्ग र जल्ने खालका फोहरलाई निश्चित् तापक्रममा राखेर जलाउने गर्दछौँ र अरु फोहरलाई निर्मलीकरण गर्दछौँ ।”अस्पतालले प्लास्टिक र सिरिञ्जलाई भने बिक्री गर्दछ । कोरोना महामारीको बेला अस्पताललाई फोहर व्यवस्थापन गर्न चुनौती नै थपिएको उनी बताउछन् ।

“पिपिइ, ग्लोब्स र मास्क कता फाल्ने समस्या प¥यो । अर्को कुुरा अस्पतालबाट निस्केको फोहर सङ्क्रमण फैलाउने भन्ने पनि डर भयो,” उनले भने, “सरसफाइ गर्नेलाई फोहर व्यवस्थापनको तालिम लिएर कसरी समुदायमा सङ्क्रमण फैलिन सक्दैन भनेर दियौँ । सोही अनुसार फोहर व्यवस्थापन गरे ।”

इन्चार्ज देवकोटाले हानिकारक फोहरलाई अटोक्लेप मेसिनबाट खतरामुक्त बनाइ बेच्ने गरेको बताउछन् ।

अस्पतालमा तीन वटा अटोक्लेप मेसिन रहेका छन् । “सुरुमा हानिकारक फोहरलाई अटोक्लेप मेसिनमा राखेर खतरामुक्त बनाउँछौँ”, उनले भने, “फोहर सामान खतरामुक्त भएपछि छुट्यााएर पुनः प्रयोग गर्न मिल्ने बेच्ने गर्दछौँ ।” टेकु अस्पतलामा कोभिड–१९ को महामारीको भने फोहर व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता रहेको थियो । पिपिइ, पञ्जा र मास्क जस्ता फोहर व्यवस्थापनका लागि मापदण्ड नहुँदा समस्या परेको उनी बताउछन् ।

सामानलाई त्यतिकै राखेर पछि कोभिड– १९ को फोहर व्यवस्थापन गर्नका लागि मापदण्ड बनेपछि सजिलो भएको थियो । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले पनि अस्पतालको फोहर व्यवस्थापन आफै गरेको छ । अस्पतालले फोहर व्यवस्थापन मापदण्डअनुसार अस्पतालमा रहेका फोहर व्यवस्थापन गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

अस्पतालले मानिसको काम नलाग्ने अंगलाई जलाउने गर्दछ भने अन्यलाई कुहिने र नकुहिने गरी छुट्टाई व्यवस्थापन गर्ने गरिएको उनको भनाइ रहेको छ । उनले अस्पतालको शय्यादेखि नै कुहिने र नकुहिने फोहर जम्मा गरी व्यवस्थापन गरिँदै आएको बताए ।

उनका अनुसार अस्पतालमा जम्मा भएको फोहरलाई छुट्टै टहरामा राखी निसङ्क्रमणा गरी व्यवस्थापन गरिएको छ । अस्पतालले प्लास्टिक बोतल, सिरिञ्ज जस्ता फोहरलाई ठेकेदारमार्फत व्यवस्थापन गर्दै आइरहेको छ । अस्पतालमा भएका फोहर व्यवस्थापनका लागि १५ जना र अस्पतालभित्र सरसफाइ गर्नका लागि ५० जनाभन्दा बढी कर्मचारी राखिएको छ ।

निजामती कर्मचारी अस्पतालले पनि महानगरको समन्वयमा फोहर व्यवस्थापन गर्दै आएको छ । अस्पतालका उपसचिव कृष्ण सापकोटाले शय्यादेखि नै कुहिने र नकुहिने छुट्याएर फोहरको व्यवस्थापन गर्ने गरेको बताउँछन् । उनले काठमाडौँ महानगरको फोहरको वर्गिकरण अनुसार फोहर व्यवस्थापन गरेको बताउछन् ।

यसका साथै अस्पतालले मानवअङ्ग र जोखिमजन्य सर्जिकल समानलाई मेसिनमा हालेर प्रदूषित नहुने गरी धुलो बनाएर निष्क्रिय गर्ने गरेको उनी बताउछन् । “जोखिमजन्य फोहरलाई हामीले मेसिनबाट धुलो बनाउँछौँ”, उनले भने, “धुलो भएपछि महानगरसँग समन्वय गरेर त्यो फोहर धुलोलाई व्यवस्थापन गर्दछौँ ।” अस्पतालको फोहर दैनिक लिन महानगरको कन्टेनर अस्पताल आउने गर्दछ ।रासस



प्रतिक्रिया दिनुहोस्