काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने ठोकुवा गरेका छन् । आगामी निर्वाचनमा एमालेले एक सिटपनि नजित्ने उनको दाबी छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईँहरुलाई शासनमा ल्याउँदैनन् । अब तपाईहरु कहाँ चुनाव जित्नुहुन्छ ? सर्भे गर्नुहोस । स्थानीय तहमा २०० सय सिट त आयो । यदि हाम्रो वडासम्म गठबन्धन गएको भए १० सिट पनि आउँदैन थियो । अबको संसद्को निर्वाचनमा एक सिट चाहीँ आउने सम्भावना छ । केपी ओली जित्ने सम्भावना छ । त्यो पनि राप्रपासँग गठबन्धन गर्नुभयो भने । नभए कुनै हालतमा आउँदैन् । मैले दोहोर्याएर भनेको छु कि केपी ओली बल्लबल्ल जित्ने सम्भावना छ । निर्वाचन आयोगको अपडेट लिनुहोस । यसपटक एमाले शुन्यतिर जानसक्छ । हरेक मोर्चामा एमाले असफल भएको छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको आरोप लगाए । उनले भने,‘एमालेका साथीहरुलाई म भन्छु–अब राष्ट्रवादको नाममा नेपाली जनता ठग्ने कोशिस नगर्नुहोस । किताब त छाप्नुभयो । किन पुर्याउनुभएन ? स्कुलमा किताब देखिनँ । तुईन हटाउछु भन्नुभएको थियो, हट्यो त ? तपाईँहरुले परराष्ट्र नीति सन्तुलित पनि बनाउन सक्नुभएन । यो सरकारले छोटो अवधिबाट देशलाई श्रीलंका हुनबाट बचाईदियो ।’
उनले नागरिकता विद्येयक पास दुवै सदनबाट भैसकेको र प्रमाणिकरणको लागि राष्ट्रपतिकहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणिकरण गर्न आग्रह गरे । उनले भने,‘राष्ट्रपतिले अहिलेसम्म विद्येयक प्रमाणिकरण नगरेर रोक्नुभएको छ, यो संविधानतः रोक्न मिल्दैन् । राष्ट्रपतिलाई मौका छ, उहाँ अहिले पनि पार्टीको राजनीतिमा भन्दा माथि उठ्न सक्नुभएको छैन् । हामी आशा गर्छौ कि भगवान पशुपतिनाथले बुद्धि दिओस, कि उहाँ सबैको राष्ट्रपति भएर सफल हुनुहोस । अविलम्ब विद्येयक प्रमाणिकरण गर्नुहोस ।’
नेता यादवले अहिलेको पाँच दलीय गठबन्धन नेपाली जनताले आवश्यकत्ता महशुस गरेर बनेको सुनाए । उनले भने,‘यो गठबन्धन नेपाली जनताले आवश्यकत्ता बोध गरेर बनेको हो । गठबन्धन आजपनि कायमै छ, भोलि पनि कायम रहन्छ । भोलि पनि यही गठबन्धनको सरकार बन्छ । यसमा जनता ढुक्क हुनुहोस ।’
उनले यसअघि जनतामाथि धोका र विश्वासघात गरेको कारण अब केपी ओलीलई अब प्रधानमन्त्री बन्ने नैतिक आधार नै नभएको दाबी गरे । उनले भने,‘अब एमालेबाट प्रधानमन्त्री बन्ने नैतिक आधार छैन, र हुँदै हुँदैन् । उहाँहरुले सरकार चलाउने भनेर ०७४ को निर्वाचनमा पनि पाँच वर्षको लागि जनताबाट म्याण्डेट लिनुभएको थियो, तर, केपी ओलीले तीन वर्ष पनि चलाउन सक्नुभएन । जनतालाई सास्ती दिनुभयो । लोकतान्त्रिक संस्थालाई समाप्त गर्नुभयो । राष्ट्रिय एकता र अखण्डतालाई बोलीबाट धरापमा पार्ने कोशिस गर्नुभयो । जनताले ओली सरकार नहटाएसम्म घर फर्किन्नौं भनेपछि उहाँ हट्न बाध्य हुनुभयो । एकचोटी सफल भैसकेको व्यक्तिलाई अब प्रधानमन्त्री बनाउनुहुन्न ।’
यादवले वर्तमान सरकारले एक वर्षको छोटो अवधिमा तीन वर्षसम्म यसअघिको ओली सरकारले गर्न नसकेको काम गरेको दाबी गरे । उनले भने,‘सरकारले भर्खरै बजेट ल्याएको छ । अब द्रुत गतिमा विकासको काम सुरु हुन्छ । शेरबहादुर देउवा प्रधानमन्त्री बन्दै गर्दा उहाँल्े चैत्र÷बैशाखभित्र खोप दिन्छु भन्नुभएको थियो । उहाँले समयमै सबैलाई खोप उपलब्ध गराउनुभयो । स्थानीय तहको चुनावपनि एकै चरणमा गर्नुभयो । त्यो पनि निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नुभयो । देउवा सरकारले श्रीलंकाको हालतमा जानबाट देशलाई बचाएको छ । यी सबै कामको लागि प्रमुख प्रतिपक्षी दल र यसका नेताहरुले पनि थ्यांक्स भन्नुपर्छ । आगामी निर्वाचनमा कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बन्दैछ ।’
उनले आफूले नेपाली जनताको मुड हेरेको भन्दै आगामी निर्वाचनमा स्वतन्त्र उम्मेद्धवारहरुले एक÷दुई वटा ठाउँमा जित्न सक्ने तर एमालेले एक सिटपनि नजित्ने ठोकुवा गरे । उनले आगामी निर्वाचनमा सत्तापक्षीय गठबन्धन एकताबद्ध भएर जाने दाबी गरे । निर्वाचनको लागि सिट बाँडफाँडको लागि काम भैरहेको उनको भनाई छ । उनले भने,‘म अहिले नै भनिदिन्छु यो निर्वाचन ९० प्रतिशत गठबन्धनले जितिसिक्यो । जनता अहिले गठबन्धनसँगै छन् । एमालेसँग जनताको वितृष्णा छ। एक वर्षमा हामीले जनतामा आशा जगाएका छौं ।’
उनले १६५ सिटमध्ये आफूहरुको दाबी १०० सिटमा रहेको सुनाए । तर, गठबन्धनभित्र सहमति कायम गर्नको लागि ९० सिटसम्म मान्न सकिने उनको भनाई छ । उनले गठबन्धनको महत्वपूर्ण घटकको रुपमा रहेको नेकपा (माओवादी केन्द्र) लाई सन्तुष्ट बनाएर गठबन्धनभन्दा बाहिर जान नदिने पनि विश्वास दिलाए । उने भने,‘माओवादीलाई जति दिनुपर्ने हो, त्यो दिन्छौं । हामी माओवादीलाई सन्तुष्ट गरेर हामीभित्रै राख्छौं । कांग्रेस आँफै शक्तिशाली छ । हामी सुध्रिएर नै जनता जोगाएका छौं ।’ उनले एमालेलाई लाजै नभएको पार्टीको पनि संज्ञा दिए । यस्तै, महाकाली सन्धि गलत हो भने केपी ओली पनि गलत भएको उनको टिप्पणी थियो ।