Logo

श्रावण पूर्णिमाको महिमा



हिन्दू पञ्चाङ्ग अनुसार श्रावण महिनाको पूर्णिमा तिथिलाई श्रावणी पूर्णिमा भनिन्छ । यस पर्वलाई रक्षाबन्धन तथा ऋषितर्पणीका नामले पनि चिनिन्छ । विशेष गरी नेपालको तराईमा बसोवास गर्ने समुदायमा र भारतमा पनि यो चाड राखीका नामले प्रसिद्ध छ । पूर्णिमाका दिन जनै अभिमन्त्रित गरी धारण गरिने भएकाले जनैपूर्णिमा, रक्षासूत्र धारण गरिने भएकाले रक्षाबन्धन र ऋषिहरूलाई तर्पण दिइने भएकाले यस पर्वको नाम ऋषितर्पणी पनि रहन गएको हो भने निकै महत्त्वका साथ दाजुभाइको हातमा दिदीबहिनीले राखी बाँधिदिने भएकाले यसलाई राखी पनि भनिएको हो ।

ऋषि–तर्पणी : पूर्वजप्रति कृतज्ञता अर्पणको पर्व

श्रावणी पूर्णिमा ऋषिहरूको पूजा गर्ने प्रचलन हिन्दू संस्कृतिमा रहेको छ ।

हामीमाथि हाम्रा पूर्वज ऋषि-मुनिहरूको धेरै अनुकम्पा रहेको छ । ज्ञान-विज्ञानका क्षेत्रमा ती मेधावी मनीषीहरूबाट हामी निकै अनुग्रहित भएका छौं । आफ्ना सुकर्मको सुगन्धले तिनको नित्य स्मरण-पूजन गर्नु, तिनै पूर्वजद्वारा दर्शाइएको ‘स्वस्ति पन्थ’मा अग्रसर हुनु र समग्र मानवताको हितमा समर्पित हुनु ती पथ-प्रदर्शकप्रति वास्तविक कृतज्ञता ज्ञापन हुनेछ ।

वैदिक संस्कृतिमा कर्तव्यपरायणताका निम्ति तीन ऋण चुक्ता गर्नुपर्ने कुरालाई निकै महत्त्व दिइन्छ । तीमध्ये ऋषिऋण आफ्ना संस्कारहरूको पालना गरे चुक्ता हुने विश्वास लिइन्छ । यस्ता उदात्त संस्कारमध्ये श्रावणी स्नानको विशेष चर्चा भएको पाइन्छ । यस दिन माटो, गोबर, कुश, खरानी, अपामार्ग आदि विभिन्न वस्तुहरूले स्नान गरिसकेपछि ऋषिहरूलाई तर्पण दिने गरिन्छ । तर्पण तृप्तिका लागि हो । यसरी तर्पण दिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामबाट पनि चिनिन्छ ।

रक्षाबन्धन : रक्षा सङ्कल्पको पर्व

श्रावण पूर्णिमाको दिन रक्षासूत्र बाँध्नुको विशेष महत्त्व छ । जसको रक्षा र उन्नति होस् भन्ने कामना छ, चाहे त्यो जुनसुकै सम्बन्धमा होस्, रक्षासूत्र बाँध्न सकिन्छ । हिन्दू परम्परामा यो पर्व पहिलो पटक पति–पत्नीबाट सुरु भएको मान्यता छ । भविष्यपुराणको उत्तरपर्व (अध्याय १३७) का अनुसार प्राचीन कालमा देव र असुरहरूबीच संग्राम भएको थियो । त्यसमा दानवहरू पराजित हुँदैथिए । यस्तो अवस्थामा दुःखी भएका दानवहरू गुरु शुक्राचार्यका सामु गएर आफ्नो पराजयको वृत्तान्त र कारण सोध्छन् । त्यसबेला दानवहरूका गुरु शुक्राचार्यले भन्नुभएको थियो— “देवराज इन्द्रकी पत्नी शचीले उनको हातमा रक्षासूत्र बाँधेर उनलाई अजेय बनाइदिएकी छिन् । त्यसै रक्षासूत्रको प्रभावले तिमीहरू इन्द्रबाट परास्त भइरहेका छौ ।”

देवराज इन्द्रकी पत्नी शचीले देवताहरूलाई पराजयबाट बचाउन र आफ्ना पति इन्द्रको जीवन रक्षा गर्न कठोर तपस्या सुरु गरेपछि फल स्वरूप रक्षासूत्र प्राप्त गरेकी थिइन् । शाचीले श्रावण पूर्णिमाको दिन इन्द्रको नाडीमा यो रक्षासूत्र बाँधेकी थिइन् जसले देवताहरूको शक्ति बढ्यो र दानवहरूमाथि विजय प्राप्त गरे भन्ने यो प्रसङ्ग आज पनि स्मरण गरिन्छ ।

रक्षाबन्धन पर्वलाई सामान्यतया दाजुभाइ दिदीबहिनीको स्नेहको पर्व भनिन्छ । तर यो प्राचीन वैदिक संस्कृतिको परिप्रेक्ष्यमा समाज, राष्ट्र र धर्मको रक्षा, जीवजन्तुको रक्षा, परिवारको संरक्षण र स्वधर्म, भाषा–संस्कृतिको संरक्षणसँग सम्बन्धित सामाजिक सद्भाव र सांस्कृतिक जागरणको महान् पर्व पनि हो । रक्षाबन्धनको पर्व सनातन कालदेखि नै सामरस्यको पर्व मानिएको छ । यो आपसी विश्वासको पर्व हो । यस पर्वमा समाजका सबल, समर्थ मानिसले निर्बल, एवं सुविधाबाट वञ्चितजनलाई ‘निर्भय रहनुस्, कुनै पनि सङ्कटमा हामी सक्षम र समर्थ व्यक्ति यहाँहरूका साथमा उभिनेछौँ’ भनी विश्वास दिलाउँथे । अहिले रक्षाबन्धन पर्वलाई वातावरण संरक्षणसँग जोडेर पनि मनाउन थालिएको छ । रुखमा राखी बाँधेर वातावरणप्रति चेतना जगाउने काम पनि मानिसले गरिरहेका छन् ।

रक्षाबन्धनको प्रसङ्गमा एउटा चिरपरिचित श्लोक हामी स्मरण गर्दछौँ । श्लोक निम्नानुसार छ—

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः ।
तेन त्वान् अनुबध्नामि रक्षे माचल–माचलः ।।

(भविष्यपुराण, उत्तरपर्व, अध्याय १३७, श्लोक २०)

रक्षा सूत्र बाँध्दा ब्राह्मण वा पुरोहित वर्गले आफ्ना यजमानलाई भन्थे– ‘जुन रक्षासूत्रले दानवहरूका महापराक्रमी राजा बलि धर्मको बन्धनमा बाँधिएका थिए अर्थात् धर्ममा प्रयुक्त गराइएका थिए, त्यसै सूत्रले म तिमीलाई बाँध्दैछु– धर्मका लागि प्रतिबद्ध गर्दैछु।’ यसपछि पुरोहित रक्षा सूत्रसँग भन्छन् ‘हे रक्षे तिमी अचल होऊ, स्थिर भइदेऊ ।’ यस प्रकार रक्षा सूत्रको उद्देश्य ब्राह्मणहरूद्वारा आफ्ना यजमानलाई धर्मका लागि प्रेरित एवं प्रयुक्त गराउनु हुन्थ्यो ।

रक्षाबन्धन एउटा शिवसङ्कल्प हो । त्यस सङ्कल्पलाई आत्मसात् गर्दै हामीले पनि आफ्नो सच्चरित्रता, पवित्रता, स्वधर्म, सांस्कृतिक जीवनमूल्यहरूको रक्षाको प्रेरणा लिनु र त्यसअनुरूपको कर्ममा आबद्ध हुनुपर्दछ ।

क्वाँटी पूर्णिमा : स्वास्थ्य एवं आहार सचेतनाको प्रेरक पर्व

श्रावण पूर्णिमाकै दिन क्वाँटी खाने गरिन्छ । यो नेपालभाषाको ‘क्वाति’ शब्दबाट बनेको मानिन्छ, जसमा ‘क्वा’ले तातो र ‘ति’ले झोललाई बुझाउँछन् । क्वाँटी पोषक हुन्छ । यसले विभिन्न भिटामिनका साथै प्रोटिन पनि प्रदान गर्दछ । खेती–किसानीबाट मानिसहरू थकित हुने भएकाले वर्षाकालमा शारीरिक सबलता तथा ऊर्जाको प्राप्तिका लागि पनि यो खाने चलन चलेको हो भन्ने मान्यता छ । मास, मुगी, चना, सिमी, केराउ, भटमास आदि नौ थरी गेडागुडीको मिश्रणलाई पानीमा भिजाई टुसा उमारेर पकाउने गरिन्छ । यसको प्रत्यक्ष सम्बन्ध प्रकृति, पर्यावरण, ऋतुचर्या र स्वास्थ्यसित गाँसिएको छ ।

सनातन संस्कृतिमा चाड–पर्व, व्रत–उत्सवहरूले विशेष महत्त्व राख्दछन् । यहाँ पर्वहरूको बाहुल्यता त छ नै, प्रत्येक पर्वको विशिष्टता पनि छ । हिन्दू संस्कृति अन्तर्गत मनाइने पर्वहरूका पछाडि सामाजिक, नैतिक एवं जीवन मूल्यको दर्शन पाउन सकिन्छ । जीवनलाई सरस र उल्लासपूर्ण बनाउनका लागि पर्व–उत्सवहरूको व्यवस्था गरिएको हुनुपर्छ ।

प्रत्येक चाडले दिने सन्देश पनि फरक–फरक रहेको पाइन्छ, जुन हाम्रा पूर्वज ऋषिहरूले विशेष विचार तथा उद्देश्यलाई आत्मसात् गरी निश्चित गरेको हुनुपर्छ । प्राचीन कालदेखि नै यी उत्सव एवं पर्वहरू सामाजिक समरसता एवं सांस्कृतिक मूल्य बढाउनका लागि आयोजित हुने गरेका छन् । श्रावणी पर्व/रक्षाबन्धन पनि यस्तै मूल्यवर्धक पर्व परम्पराको एउटा सशक्त उदाहरण हो ।-शिवताबाट



प्रतिक्रिया दिनुहोस्