Logo

काँग्रेस ८० सिटमा मान्नेमा प्रचण्ड ढुक्क



काठमाडौं, २८ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनबीच नेपाली काँग्रेसले आधा र बाँकी दलले आधा सिट पाउने गरी सहमति हुनसक्ने विषय पार्टी बैठकमा राखेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा सिट बाँडफाँटाबारे अहिलेसम्म कार्यदलले गरेको प्रगतिबारे छलफलमा उनले त्यस्तो भनाई राखेका हुन् ।

बैठकमा प्रचण्डले काँग्रेसले १०० सिट दाबी गरेपनि ८० मा मान्ने विश्वास व्यक्त गरेको सहभागी एक नेताले बताए । प्रचण्डले सिट बाँडफाँटमा आफ्नो दलको दाबीबारे पनि सुझाव लिएका थिए । बैठकका सहभागीहरुले कम्तिमा ५० सिट दाबी गर्नुपर्नेमा जोड दिए । विगतमा नेकपा एमालेसँग मिलेर चुनाव लड्दा ८० र ४० मा सहमति भएको विषय पनि उठ्यो ।

काँग्रेसले १०० सिट लिएर समानुपातिकतर्फ समेतको जोडेर बहुमत नजिक पुग्ने रणनीति चालेको विषय पनि उठेको थियो । काँग्रेसले समानुपातिक र प्रत्यक्ष जोड्दा १०० सिट मात्र पुग्ने अवस्था बनेमा मात्र शक्ति सन्तुलन मिल्ने विश्लेषण समेत माओवादीमा भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्