Logo

समाजवादी पार्टीलाई गठबन्धनमा जान उपेन्द्र यादवले रोकेः महिन्द्र राय यादव



काठमाडौं, ३० साउन । नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले आफ्नो पार्टीलाई सत्ता गठबन्धनमा राख्न प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक भए पनि उपेन्द्र यादवले रोकेको आरोप लगाएका छन् ।
“हामी वर्तमान सत्ता गठबन्धनको संस्थापक हौं । हामीलाई गठबन्धनमा राख्न प्रधानमन्त्री पोजिटिभ हुनुहुन्छ । तर उपेन्द्र यादवले हाम्रो विरोध गरिरहेका छन् । हामीले गठबन्धन गर्ने कुरा पहिलेदेखि नै उठाउँदै आएका हौं । अहिले पनि हाम्रो अडान त्यही हो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने । आफ्नो पार्टीलाई नेकपा एमालेले महत्त्व नदिएन दिएकाले सत्ता गठबन्धनभित्रै रहने उनको भनाइ छ ।
उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले माओवादी केन्द्रको चुनाव चिह्नमा लड्ने पनि औंल्याए । यादवले भने, “माओवादी केन्द्रसँग एक चरणका वार्ता भएको छ । साझा घोषणापत्र र चुनाव चिह्नमा जाने कुरामा करिब करिब सहमतिको नजिक छौं । तर हाम्रो पार्टी माओवादी केन्द्रमा विलय भएको होइन ।”
राष्ट्रपतिले नागरिकता विधेयक संसद्मा फिर्ता गर्नु दुःखद कुरा भएको पनि यादवले बताए । उनले भने, राष्ट्रपतिसँग विधेयक संसद्मा फिर्ता गर्ने अधिकार छ । तर उहाँले देशका नागरिकका सन्तानको समस्या बुझ्नुभएन । एमालेले ५ वर्षभित्र नागरिकता समस्या समाधान गर्ने घोषणापत्रमा लेखेको होइन ? नागरिकता देशकै समस्या हो । देशको समस्या समाधान गर्ने जिम्मेवारी एमालेको होइन ? अहिले डबल स्टान्डर्ड भयो ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot