काठमाडौं, ३० साउन । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले नागरिकता विधेयक पुर्नविचारका लागि संसदमा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गरेको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मोर्चाले उक्त कदमको स्वागत गरेको जानकारी दिएको हो ।
भण्डारीले नागरिकता विधेयकमा संसदले पुर्नविचार गर्न आवश्यक भएको भन्दै आइतबार संसदै फिर्ता पठाएकी थिइन् । मोर्चाले गत साउन २६ गते भण्डारीलाई राष्ट्रिय एकताको प्रवर्धन गर्न नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनताको रक्षा गर्नू राष्ट्रपतिको संवैधानिक दायित्वबारे ध्यानाकर्षण गराएको थियो ।
राजनीतिक अधिकारको इच्छाको पुर्णताको लागि वैवाहिक सम्बन्धको आधारलाई विचार गर्नु वान्छनिय छ भन्दै राष्ट्रपति भण्डारीलाई माोर्चाले ज्ञापनपत्र समेत बुझाएको थियो ।
मोर्चाका अध्यक्ष तारानाथ लुइटेलले नागरिकता विधेयक संसदमा फिर्ता गरेकोमा राष्ट्रपति भण्डारीलाई धन्यवाद दिए । उक्त विधेयक प्रमाणीकरण नगरेर भण्डारीले राष्ट्रको अस्मिता जोगाएको उनको भनाई थियो ।
लुइटेलले नागरिकता विधेयकलाई आत्मघातीको संज्ञा दिँदै विदेशीको इशारा, चाकडी र मुलुकलाई विखण्डन गर्न नेताहरुले ल्याएको उनले टिप्पणी गरे । उनले भने,‘यो विधेयक राष्ट्रघाती छ, दलहरुले छिटो भन्दा छिटो दुवै संदनबाट पास गरेर राष्ट्रपतिलाई प्रमाणिकरण गर्न पठाएका होइनन् र, किन यति चाडो पठाए ? यो देश २ करोड नेपालीको हो विदेशीको होइन् ।’ सो विषयमा राष्ट्रपति भण्डारीमाथि दलहरुले अत्याचार गर्न खोजे जनता बाध्य भएर सडकमा उत्रने चेतावनी दिए ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई १७ हजार मानिसको हत्याराको संज्ञा दिँदै उनले सत्य निरुपण आयोगमा ७० हजार मुद्दा अझै जारी रहेदै गर्दा प्रचण्ड फेरी प्रधानमन्त्री बन्न खोजेको भन्दै उनले आपत्ति जनाए । वर्तमान समयमा नेपालमा कुनै पनि स्थानमा जनताले चित्त बुझाउने अवस्था नभएको भन्दै उनले भने,‘अब आउने दिनमा नेपाली जनता चनाखो भएर चुनावमा उम्मेदवार छान्न पर्छ ।’
कार्यक्रममा वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले मोर्चाले राष्ट्रपति भण्डारीलाई उक्त विधेयक प्रमाणीकरण नगर्न अनुरोधसहित बुझाएको ज्ञापनपत्र वाचन गरेका थिए । कार्यक्रममा महामन्त्री सहकुल शाहलगायतले आफ्नो भनाई राखेका थिए ।