बखतियार अलि-सर्लाही,सर्लाही ३१। अनियमित रुपमा छिनछिनमा लाइन काटेर विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवासहित सर्लाही जिल्लाअन्तर्गतका सबै वितरण केन्द्रहरुले दु:ख दिन थालेकाले जिल्लाभरीका उपभोक्ताहरु प्राधिकरणको लापरबाहीपुर्ण रवैयाप्रति आक्रोशित भएका छन् ।
विगत केही सातादेखि प्राधिकरणले बिना सूचना छिनछिनमा झ्याप–झ्याप विद्युत लाइन काट्ने गरेको छ । यसरी छिनछिनमा बत्ती जाँदा बिजुलीबाट हुने सम्पूर्ण काममा अवरोध उत्पन्न भएको छ।लाइन नभएको बेला विकल्पको रुपमा इन्भर्टरबाट काम चलाउँदै आएका मानिसहरु छिनछिनमा बत्ती गरइरने समस्याका कारण इन्भर्टर समेत चार्ज गर्न पाएका छैनन् ।
कबिलासी नगरपालिकाका एक कर्मचारीका अनुसार कार्यालयको सबै काम कम्पियुटरबाटै हुने भएकोले छिनछिनमा लाइन गइरहने,कुनैबेला एकछिनको लागि आएपनि लामो समयसम्म लाइन कटिरहने कारणले गर्दा सेवाग्राहीको एकदिनमा हुने काममा ३ देखि ४ दिनको समय लाग्ने गरेको छ।
प्रचण्ड गर्मीमा टाढाबाट आउने सेवाग्राहीहरुलाई एउटा सानो कामको लागि कार्यालयमा ओहोरदोहोर गराउन आफुहरुलाई पनि नराम्रो महसुस हुने गरेको उनले भने। विद्युत प्राधिकरणका कार्यालय प्रमुखदेखि अन्य कर्मचारीहरु सँग छिनछिनमा लाइन जाने समस्याको कारणबारेमा जानकारी लिन फोन गर्दा फोन नउठाउने र यदी उठाइहाले पनि ३३ केभीमा खराबी आएको,फ्युज उडेको, पोल ढलेको,तारमा रुख ढलेर तार चुडेको खालका रेडिमेड जवाफ फर्काउने गरेको उपभोक्ताहरुले बताए ।कतिबेला लाइन आउँछ भनेर सोद्धा प्राविधिकहरु काममा लागेको छ केही छिनमै लाइन आउँछ भनि फोन काट्ने गरेको उपभोक्ताहरुले भने।
प्राविधिकहरु समस्याग्रस्त लाइनको मर्मत गरेर विद्युत सुचारु गरेपनि केहीबेरमै पुनः कटेर घन्टौंसम्म विद्युत सेवा अवरुद्ध हुने गरेको छ। उपभोक्ताहरु यो समस्याबाट एक या दुईदिन मात्रै नभइ दैनिक रुपमा पिडित भइरहेका छन्।लोडसेडिङ अन्त्यपछि पनि उपभोक्ताले निरन्तररूपमा यस्तो समस्या झेल्दै आएका छन् ।
मलंगवा नगरपालिका वडा न-२ निवासी मुक्ता यादवले विद्युत आपूर्ति अनियमित हुँदा छाेरा छाेरीकाे पढाइ प्रभावित हुने गरेकाे गुनासाे गरिन् ।दिउँसो पंखा,कुलर नचल्दा गर्मीले गर्दा एकठाउँ बसेर पढ्न सकिन्दैन भने राति बत्ती नभएर पढ्न सकिन्दैन यादवले गुनासो गरिन। लोडसेडिङ हटेपनि ‘खै किन हो जुन सुकै बेला बत्ती गइरहन्छ,’ उनले भनिन्,‘यसरी बत्ती जाँदा बच्चाहरूको पढाईमा समस्या भइरहेको छ ।’
मलंगवा नपा-८ की अजिता चौधरीको गुनासाे पनि यादवकाे जस्तै छ । उनी भन्छिन्, ‘हामीलाई बढी बिजुली चाहिने भनेको बिहान र साँझको समयमा हो ।दिन रात झ्याप–झ्याप बत्ती गइरहेको छ ।फ्युज शाखामा फोन गर्दा, मर्मत हुँदैछ भन्छन्। बत्ती कुर्दा कुर्दै अरु काम पनि प्रभावित हुने गर्छ।’ दिनरात बत्ती काटिने समस्या उपभोक्ताहरुको लागि विकराल बनेको छ।
अनियमित विद्युत आपुर्तिका कारण बिजुलीबाट चल्ने उपकरणहरु नचल्दा सबैखाले कार्यालयहरुबाट प्रदान गरिने सेवा देखि व्यापार व्यवसाय प्रभावित भएका छन्।अनियमितरूपमा भइरहने हाइ र लो-भोल्टेजका कारण विद्युतिय उपकरणहरु बिग्रेर आफुहरुको हजारौं लाखौं रुपैयाँको क्षति भइसकेको उपभोक्ताहरुले दुखेसो पोखेका छन।
जिल्लाको मलंगवा,लालबन्दी, हरिवन, बरहथवा, बयलबास जस्ता मुख्य सहरदेखि गाउँसम्मकै उपभाेक्ताले जथाभावी बत्ती काटिने समस्या झेलिरहेका छन् । तर उपभोक्ताहरुलाई जस्तो सुकै समस्याहरु आएपनि बिजुलीको महसुल समयमै बुझाउनु पर्छ ,समयमा नबुझाए जरिवाना बने अनिवार्य तिनुपर्छ ।लाइन दिन कन्जुस्याइँ गर्ने तर लाइन काट्न कन्जुस्याइँ नगर्ने विद्युत प्राधिकरणको रवैयाबाट जिल्लाभरीका उपभोक्ताहरु पिडित भएका छन् ।