समाचार विश्लेषणः जब राजा भरत विश्वविजेता बनेर फर्कन्छन् तब उनका महामन्त्रीले उत्तराधिकारी युवराज चयन गर्न सुझाव दिन्छन् । नौं छोराका पिता भरत अलमलमा पर्छन् । उनी आमा शकुन्तलालाई भेटेर सल्लाह गर्छन् । शकुन्तलाले ऋषि कन्भ कहाँ जान सल्लाह दिन्छिन् ।
भरतले ऋषि कन्भको आश्रममा पुगेर आफ्ना नौ छोरामध्ये कस्लाई राजा बनाऊँ भन्नेमा निर्णय लिन नसकिरेको बताउँछन् । ऋषि कन्भले पृथ्वीमाथि विजय पाउने राजा भरतले आफैमाथि विजय प्राप्त गर्न नसकेको भन्दै न्याय गर्न नसक्ने बताउँछन् । कन्भ भन्छन्,‘जाऊ आपैमाथि विजय प्राप्त गर ।’ भरतलाई उत्तर मिल्छ ।
राजा भरतले आफ्ना नौ छोराभन्दा जनताका छोरा भारद्वाज मन्युमा युवराज बन्ने क्षमता देख्छन् । उनी सन्तानमोहभन्दा माथि उठेर भारतद्वाज मन्युलाई छोरा मानेर युवराज घोषणा गर्छन् । छोराको निर्णयबाट असन्तुष्ट सकुन्तला भन्छिन्,‘तिमी कस्ता पिता हौं जसले आफ्ना सन्तानको अधिकार अरु कसैलाई दियो ।’ उनले आफू पिता मात्र नभई राजा पनि भएको र आफ्ना लागि सबै जनता सन्तान नै भएको जवाफ दिन्छन् । उनी भन्छन्,‘मेरो परिवार निकै ठूलो छ । सारा जनसमुदाय मेरो परिवार हो र जसलाई युवराज घोषणा गरे त्यो पनि मेरो सन्तान नै हो ।’
एउटा असर शासकले सन्तानमोहभन्दा माथि उठेर देशको हितमा काम गर्छ भन्ने उदाहरण हो यो । जन्मभन्दा कर्मलाई ठूलो ठान्ने थितीलाई बसाले राजा भरतले । यो कुनैपनि राष्ट्रका असल नेताका लागि गतिलो उदाहरण पनि हो । हजारौं वर्ष अघिको यो उदाहरण हामी पढ्दै र सुन्दै आएका छौं । तर, के हामीले त्यस्ता नेता पायौं ?
२१औं शताब्दीको नेपालमा नेताहरु आफ्ना गतिविधिका कारण आलोचित हुँदै आएका छन् । जनतामा उनीहरुप्रति विश्वास नै छैन । तर, थोपरेको नेताको सामना गर्नुपर्ने वाध्यता पर्दै आएको छ । यतिसम्मकी नेताहरु सन्तानमोहमा चुर्लुम्म डुबेका छन् ।
प्रथम राष्ट्रपति डा. रामवरण यादव आफ्ना पुत्र डा. चन्द्रमोहन यादवलाई सांसद बनाउन लागे । चिकित्सा पेशाका चन्द्रमोहनलाई उनले आफू राष्ट्रपति हुँदा काँग्रेसको टिकटबाट चुनाव लडाएर जिताए । तर, अहिले चन्द्रमोहन राजनीतिमा प्रभाव देखाउन सकिरहेका छैनन् ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी छोरी उषाकिरण भण्डारीलाई प्रतिनिधि सभा चुनावमा एमालेको टिकटबाट बढाउन खोज्दैछिन् । उनमा पनि पुत्रीमोह देखिइसकेको छ । उषाकिरणभन्दा धेरै लामो संघर्ष गरेकाहरु पछि पारिदैछन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छोरी रेणु दाहाललाई दुईपटक भरतपुर महानगरपालिकाको मेयर जिताउन सफल भए । रेणुलाई राजनीतिमा स्थापित गर्न प्रचण्डले निकै शक्ति खर्चिए । माओवादीको भावी नेतृत्वका लागि रेणुलाई नै तयार गरिएको चर्चा चल्न थालिसकेको छ । प्रचण्डमाथि सन्तानमोह बढी रहेको आरोप लाग्ने गरेको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि छोरी मानुषी यमी भट्टराईलाई चुनावमा खडा गराउँदैछन् । मानुषी काठमाडौंबाट चुनाव लड्ने तयारीमा छिन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा छोरा जयवीरसिंह देउवालाई राजनीतिमा बढाउँदैछन् । यसमा आरजु देउवा पनि लागिसकेकी छिन् । काँग्रेसमा देउवा परिवारका रुपमा नयाँ परिवार स्थापित भइसकेको छ । विगतमा कोइराला परिवार स्थापित नाम बन्दै आएको छ काँग्रेसमा । विगतमा गिरिजाप्रसाद कोइरालामाथि छोरी सुजाता कोइरालालाई स्थापित गर्न लागिपरेको आरोप लाग्दथ्यो । सुजाताले राजनीतिमा कुनै करिश्मा देखाउन सकिनन् । कोइराला परिवारका डा. शेखर कोइराला र डा. सशांक कोइरालाले पनि खासै प्रभाव देखाउन सकेनन् ।
विगतमा गणेशमान सिंहमाथि पनि सन्तानमोहमा डुबेको आरोप लाग्यो । प्रधानमन्त्रीको प्रस्ताव नै त्यागेका गणेशमानले छोरा प्रकाशमान सिंहलाई राजनीतिमा स्थापित गर्न शक्ति खर्चिएको विषय नउठेको होइन । प्रकाशमानले पनि छोरा प्रवासमान सिंहलाई राजनीतिमा अगाडि बढाइसकेका छन् ।
देशका शक्तिशाली नेताहरुमा सन्तानमोह धेरै देखिएको छ । सन्तानमोहका कारण उनीहरु आफ्ना छोराछोरीलाई राजनीतिमा स्थापित गर्न बढी समय र शक्ति खर्चिइरहेको देखिन्छ । अन्य कार्यकर्ता क्षमतावान् हुँदाहुँदै धकेल्ने र आफ्ना सन्तानलाई माथि उचाल्ने गतिविधि नेपाली राजनीतिमा व्याप्त देखिन्छ । यसले दलहरुभित्रै नेताहरुप्रति असन्तुष्टि व्याप्त हुँदै गएको छ ।