काठमाडौं, २ भाद्र । प्रतिनिधि सभा सदस्यका लागि कुनै एक निर्वाचन क्षेत्रबाट मात्र उम्मेदवार बन्न पाइन्छ । यही नियमले धेरैजना शिर्ष नेताहरुलाई समस्यामा पारेको छ ।
विगतमा शिर्ष नेताहरु सांसद पद सुनिश्चित गर्न या सामथ्र्य प्रदर्शन गर्न दुई स्थानबाट चुनाव लड्थे । गिरिजाप्रसाद कोइराला, मदन भण्डारी, मनमोहन अधिकारी, माधवकुमार नेपाल, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, सुशील कोइराला, डा. बाबुराम भट्टराईलगायत नेताहरु दुई स्थानबाट चुनाव लड्ने नेतामध्ये पर्छन । कतिपयले दुवै स्थानबाट जितेको र कतिपयले एक स्थानबाट मात्र जितेको इतिहास छ ।
माधव नेपालले विगतमा काठमाडौं र रौतहट दुवै स्थानबाट चुनाव जितेका थिए । २०६५ को संविधानसभा निर्वाचनमा यी दुवै निर्वाचन क्षेत्रबाट पराजित भए । तर, दुई स्थानबाट पराजित भएका उनै माधव नेपाल प्रधानमन्त्री बन्न सके ।
२०७० र २०७४ को चुनाव काठमाडौंबाट जितेका माधव नेपालले यसपटक कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्लान् ? चासो बनेको छ । उनी हाल काठमाडौं क्षेत्र नं २ बाट संसद सदस्य छन् । तर, उनको ध्यान रौतहट क्षेत्र नं १ तर्फ गइरहेको छ ।
माधव नेपाल पछिल्लो समय रौतहटमा बढी आउजाउ गर्न थालेका छन् । स्थानीय चुनावमा गौर नगरपालिकामा माधव नेपालको दलबाट निर्वाचित भए । यसले उनलाई उत्साही बनाएको छ । गौर रौतहटको क्षेत्र नं १ मा पर्दछ । उक्त क्षेत्रबाट नेपाल २०५६ र २०७० मा निर्वाचित भएका थिए । २०७४ मा भने उनी काठमाडौं २ बाट निर्वाचित भए ।
एमाले फुटेर नेकपा एस बनाएका नेता नेपालले काठमाडौंलाई सुरक्षित निर्वाचत क्षेत्र नमानेको बुझिएको छ । काठमाडौंमा स्वतन्त्र उम्मेदवारहरु दरिलो रुपमा देखिदा पनि उनी सतर्क बनेका छन् । त्यसमाथि काठमाडौं उपत्यकाभित्र पटक पटक देशको महत्वपूर्ण पदमा पुगेका र ६५ पार गरेकाहरुलाई चुनाव मुश्किल हुनेगरी अभियान नै चलेको छ । यसकारण पनि माधव नेपाल रौतहटमा चुनाव लड्ने सम्भावना देखिएको हो ।
२०७४ को निर्वाचनमा तत्कालीन राजपाका अनिल कुमार झाले रौतहट क्षेत्र नं १ बाट चुनाव जितेका थिए । उनले २१ हजार ४ सय ७२ मत ल्याउँदा नेपाली काँग्रेसका कृष्णप्रसाद यादवले १५ हजार ८ सय ७४ मत ल्याएका थिए । माओवादीका सत्यनारायण भगतले १२ हजार ३ सय ३१ मत ल्याए । स्वतन्त्र उम्मेदवार बबन सिंहको १६ सय ६९ मत आएको थियो । त्यतिबेला एमालेले माओवादी उम्मेदवारलाई सघाएको थियो ।
सत्ता गठबन्धन बनेर जाँदा रौतहट क्षेत्र नं १ मा माधवकुमार नेपालको स्थिति मजबुत हुन सक्छ । माओवादी र काँग्रेसको मात्र २०७४ को मत जोड्दा नेपाल गठबन्धनबाट उठेमा जित सजिलो देखिन्छ । तर, चुनाव सोचेजस्तो नहुनसक्छ । लोसपा नेता अनिलकुमार झा अन्य शक्तिसँग गठबन्धन गरेर मजबुत बन्न सक्छन् । यसकारण रौतहट १ माधव नेपालका लागि चुनौतीपूर्ण नै छ ।-File Photo