Logo

अबको प्रधानमन्त्री ठूलो पार्टीको हिसाबले कांग्रेस वा माओवादीबाटै हुन्छन्ः डा. बाबुराम भट्टराई



काठमाडौं, ३ भदौ । नवगठित नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूमा प्रधानमन्त्री बन्ने चाहना र सम्भावना दुवै नभएको बताएका छन् । ठूलो दलका रुपमा नेपाली कांग्रेस वा माओवादी केन्द्रबाटै प्रधानमन्त्री हुने उनको तर्क छ ।
“आगामी निर्वाचनपछि प्रधानमन्त्री को बन्ने भन्ने त अनुमानको कुरा मात्र हो । संसारभरि नै ठूलो पार्टीबाट नेतृत्व गर्ने अभ्यास हुन्छ । कतै कतै साना पार्टीले पनि नेतृत्व गर्छन् । मेरो विचारमा ठूलो घटक नेपाली कांग्रेस वा माओवादी केन्द्रले नेतृत्व गर्लान् । तर व्यक्ति पार्टीले टुंग्याउने कुरा हो,” प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै भट्टराईले भने ।
नेता भट्टराईले आफू प्रधानमन्त्रीको दौडमा नरहेको पनि खुलासा गरे । उनले भने, “मेरो चाहना त हाम्रो उमेरका मानिसले स्थान छाडिदिनुपर्छ भन्ने हो । तर त्यसका लागि आआफ्ना पार्टीमा नयाँ मानिस तयार गर्नुपर्छ । व्यक्तिगत रुपमा मेरो पकटपटक प्रधानमन्त्री हुने चाहना छैन । अहिले त्यो सम्भावना पनि छैन ।”

सबैभन्दा नजिकको माओवादी केन्द्र
भट्टराईले सात वर्षपछि प्रचण्डसँगको सहकार्यलाई यु-टर्नका रुपमा बुझ्न नहुने बताए । उनले भने, “विश्व ब्रह्माण्ड नै गतिको नियम अनुसार चलेको छ । हामी पनि त्यसकै तरंग अनुसार अगाडि बढिरहेका छौं । नेपालको राजनीतिक आन्दोलनमध्ये सबैभन्दा ठूलो त माओवादी जनयुद्ध नै हो भनेर अघि बढेका हौं । त्यसमा म पनि सहभागी थिएँ । अब हामीले सहकार्य गर्दा सबैभन्दा नजिकको शक्ति माओवादी केन्द्र नै हो । यसलाई मेरो यु-टर्नका रुपमा बुझ्नु हुँदैन ।”
तपाईंले अघिल्लो निर्वाचनमा माओवादी केन्द्रलाई छाडेर कांग्रेससँग सहकार्य गरेको होइन भन्ने पत्रकार धमलाको प्रश्नमा भट्टराईले भने,” हो, विगत सात वर्षमा मैले सोचेजस्तो नयाँ वैकल्पिक शक्ति तयार हुन सकेन । माओवादी केन्द्रको एमालेसँगको सहकार्य पनि अघि बढेन । नयाँ विकल्प पनि सफल नभएको र पुरानामा मिसिए पनि काम नगरेकाले अपेक्षित उपलब्धि भएन । हाम्रा निम्ति नेपाली कांग्रेस र केपा एमालेभन्दा नजिकको शक्ति माओवादी केन्द्र नै हो । त्यसैले नयाँ परिस्थिति निर्माण भएको हो ।”

माओवादीमा फर्कने होइन, समाजवादी केन्द्र बनाउने हो
आफू माओवादी केन्द्रमा फर्कनेभन्दा पनि नयाँ समाजवादी केन्द्र बनाउन लागिरहेको नेता भट्टराईले औंल्याए । उनले थपे, “म पुरानो पार्टीमा फर्किएको होइन । अहिले हामी अलग अलग पार्टीमा छौं । हाम्रो पार्टी एकता भइसकेको छैन, चुनावी तालमेलमात्र हो । हामी एउटै चुनाव चिह्न लिएर जाने हो । तालमेल हुँदै व्यापक ध्रुवीकरण गर्दै भविष्यमा समाजवादी धारका रुपमा अघि बढ्न सक्छ ।”
आफू कम्युनिस्ट विरोधी नभएको पनि उनले स्पष्ट पारे । भट्टराईले भने, “कम्युनिस्ट भनेको एउटा ब्रान्ड हो । शोषणविहीन वर्गविहीन समाज बनाउने उसको आदर्श ठीकै छ । यो विचार हाम्रा ऋषिमुनिदेखि मार्क्ससम्मले लिएका थिए । तर अहिले समाजवादी धार किन नबनाउने भन्ने बहस हो । पुरानो ढंगको कम्युनिस्ट पार्टीमा अब पुनर्विचार गर्नुपर्छ । यसको अर्थ म कुनै पार्टीको विरोधी होइन । बाबुराम कम्युनिस्टविरोधी हो भन्ने ढंगले बहसलाई नलैजानुस् । त्यसो भए के म राजतन्त्रवादी वा पुँजीवादी हुँ त ? सबैभन्दा काम नलाग्ने थोत्रो विचार त तिनै हुन् ।”
चुनावपछि समाजवादी शक्ति निर्माणका निम्ति प्रयत्न हुने पनि भट्टराईले बताए । उनले थपे, “मेरो भावना कम्युनिस्ट पार्टी होइन, समाजवादी केन्द्र बनाऊँ भन्ने हो । सबै समाजवादी शक्तिलाई सँगै लिएर जाऊँ भन्ने हो । भूराजनीतिक जटिलता, विकास र समृद्धिका निम्ति माओवादी वा कम्युनिस्ट पार्टीभन्दा समाजवादी केन्द्र वा सामाजिक लोकतान्त्रिक पार्टी उपयुक्त हुन्छ । त्यस्तो शक्ति बनाउने हाम्रो प्रयत्नले चुनावपछि मूर्त रुप लिन सक्छ ।”

माओवादीविरोधी होइन
विगतमा तपाईंले प्रचण्डमाथि थुप्रै दोषारोपण गरेर पार्टी छाड्नुभएको होइन भन्ने पत्रकार धमलाको प्रश्नमा नेता भट्टराईले भने, “प्रचण्डप्रति मलाई अनावश्यक शब्द प्रयोग गरेको छैन । प्रचण्ड र मेरोबीचमा एकता, संघर्ष र रुपान्तरणको सम्बन्ध छ । सधैं एकता वा सधैं संघर्ष भन्ने हुँदैन । त्यो व्यक्तिसँगको रिसइबी होइन । अब सम्बन्धका आधारमा भन्दा पनि देशको आवश्यकता हेरेर मिल्ने शक्तिसँग सहकार्य गरेर अघि बढ्ने भन्ने हो । म माओवादीलाई पनि खराब भन्दिनँ । किनभने म आफैं त्यसमा रहेर लडेको हुँ ।” गोरखा जिल्लाकै नेता नारायणकाजी श्रेष्ठसँग आफ्नो सम्बन्ध नराम्रो नभएको पनि उनको दाबी छ ।

एमाले विचार र नेतृत्वको संकटमा छ
एमाले तत्काल नेकपा एमाले पहिलो शक्ति नबन्ने पनि उनले ठोकुवा गरे । भट्टराईले भने, ए”माले शक्तिका रुपमा त रहन्छ नै । मतका हिसाबले कांग्रेस र एमाले हाराहारीमा छन् । तर एमाले विचार र नेतृत्वका हिसाबले संकटमा छ । त्यसैले तत्काल एमाले पहिलो शक्ति भएर नेतृत्व गर्ने अवस्थामा छैन ।”
नेता भट्टराईले नेपालमा दुई दलीय प्रणाली सम्भव नभएको दाबी गरे । उनले थपे, “नेपालमा कम्युनिस्ट र कांग्रेस विचारभन्दा पनि ब्रान्डका रुपमा स्थापित छन् । तैपनि नेपालको अवस्था हेर्दा दुईदलीय प्रणाली बन्दैन । पुरानो पार्टीका हिसाबले कांग्रेस, मध्यमवर्गको रोजाइ एमाले र २०५२ पछि उदाएका दल तेस्रो धार बन्न सक्छ । त्यो पहिलो शक्ति पनि बन्न सक्छ ।”

जसपा नेतृत्वमा अग्रगामी चिन्तन देखिएन
अर्को प्रसंगमा उनले आफूमाथि कसैको इशारामा पार्टी फुटाएको आरोप लगाउन नमिल्ने जिकिर पनि गरे । भट्टराईले भने, “मैले आदिवासी, जनजाति, मधेसी सबैलाई मिलाएर पार्टीलाई अघि बढाउने पवित्र उद्देश्य लिएको थिएँ । तर नेतृत्वमा अग्रगामी चिन्तन देखिएन । वैचारिक रुपमा क्षेत्रीय र जातीय संकीर्णताभन्दा माथि उठ्न सकेन । मलाई विदेशी शक्तिको इशारामा चल्ने कसैले भन्छ भने कसले पत्याउँछ ? म सबैलाई विवेक प्रयोग गर्न आह्वान गर्छु । कसैसँग मेरो गुनासो छैन ।”
आफू गठबन्धनबाटै चुनाव लड्ने र भागबन्डामा समस्या नहुने पनि उनले बताए । भट्टराईले भने, “यो गठबन्धन केपी ओलीले संविधानलाई नै दुर्घटनामा पार्न खोजेपछि बनेको हो । हामी अहिलेकै गठबन्धनबाटै चुनावमा जान्छौं । आफ्नो भाग ठूलो बनाउने कोसिस त सबैले गर्छन् । तर उचित र न्यायोचित हुनुपर्छ ।”

शेरबहादुरजीसँग राम्रो सम्बन्ध छ
तपाईंलाई कांग्रेसले धोका नदेला भन्ने प्रश्नमा उनले भने, “राजनीतिमा विश्वास र आशंका दुवै हुन्छ । तर अहिले विश्वास नै गर्नुपर्छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्बन्ध सौहार्दपूर्ण र राम्रै छ । सबै जनतामा जाने हो, फैसला उनीहरुले नै गर्ने हो ।”
संघीयता असफल भयो, जनतामा वितृष्णा छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “यो विमर्श सतही छ । गहिराइमा गएर हेर्दा लोकतन्त्रकै अपूर्णताको समस्या हो । संघीयताको त्रुटि होइन, संघीयताको अपूर्णताको त्रुटि हो । कार्यान्वयनमा भएको त्रुटि हो । संघीय गणतन्त्रको विकल्प छैन । सबै कुरामा समाधान खोज्ने हो भने अब प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्छ । संसदलाई पूर्ण समानुपातिक बनाउनुपर्छ । भारत, चीन र अमेरिकाको सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ । दुई दशकमा दुई अंकको वृद्धिदर निरन्तर, न्यायपूर्ण वितरणका खाका बनाउनुपर्छ । भ्रष्टाचार र बेथिति रोक्ने संयन्त्र बनाउनुपर्छ ।”

मानुषी काठमाडौं–७ बाट उठ्छिन्
नेताहरुलाई पनि परिवारवादको आरोप लाग्दै आएको छ, छोरी मानुषीलाई तपाईं कुन क्षेत्रमा उठाउँदै हुनुहुन्छ भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने,” लोकतन्त्रमा कोही जितेर आउँछ भने त्यो परिवारवाद होइन । नचुनिईकन आउनु पो परिवारवाद हुन्छ । कुन क्षेत्रबाट उठ्ने भन्दा पनि मानुषीको रुचिको कुरा हो । म गोरखाको हुँ, हिसिला काठमाडौंकी हुन् । मानुषी आधा गोरखा, आधा काठमाडौंको हो । उनको विचार काठमाडौंलाई नै क्षेत्र बनाउँछु भन्ने छ । काठमाडौं–७ मा उनको माग छ । उनी इच्छुक पनि छन् ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot