Logo

सुवास नेम्वाङ्गको अग्निपरीक्षा, के गठबन्धनका उम्मेदवारलाई हराउन सक्लान्



काठमाडौं, ३ भाद्र । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र हुन् । उनलाई कतिपयले एमालेको भावी अध्यक्षका रुपमा पनि देखेका छन् ।

सभामुख भइसकेका नेम्वाङ्गसँग कूटनीतिक चार्तुयता छ । देशमा २०७२ को संविधान जारी गर्न उनको महत्वपूर्ण भूमिका छ । संविधानमा धर्मनीरपेक्ष सुनिश्चित गर्न पनि उनकै मुख्य भूमिका थियो ।

नेम्वाङको चुनावी क्षेत्र इलाम हो । उनी पटक पटक इलामबाट निर्वाचित हुँदै आएका छन् । इलाम क्षेत्र नं २ बाट २०७४ को चुनाव जित्दा नेम्वाङ्गले ३६ हजार ५१७ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी काँग्रेसका केशव थापाले २६ हजार ८६५ मत ल्याएका थिए । माओवादीसँग चुनावी तालमेल भएकाले त्यतिबेला नेम्वाङ्गले माओवादी पक्षधरको मत पनि प्राप्त गरेका थिए ।

मंसिर ४ को चुनाव भने नेम्वाङ्गका लागि अग्निपरीक्षा नै हुने देखिएको छ । यसपटक उनी इलाममा बलियो शक्तिका रुपमा रहेका काँग्रेस, माओवादी र नेकपा एससहितको गठबन्धनसँग चुनावी प्रतिष्पर्धामा रहने सम्भावना देखिन्छ ।

२०७९ को स्थानीय चुनावको नतिजालाई आधार बनाउँदा इलाम क्षेत्र नं २ मा पर्ने माइजोगमाईमा मात्र एमालेले प्रमुख जितेको थियो । वडा नं १ देखि १० पर्ने इलाम नगरपालिका काँग्रेसले जितेको थियो । देउमाईको ६ देखि ९ वडा पनि क्षेत्र नं २ मा पर्छ । ती वडाहरुको कुल मतमा एमालेको सबैभन्दा बढी छ । रोङ र सन्दकपुरमा पनि काँग्रेस जितेको थियो । सुर्योदयमा एमालेमाथि नेकपा एसले प्रमुखमा जित हासिल गरेको थियो ।

स्थानीय चुनावको परिणामलाई दृष्टिगत गर्दा इलाम क्षेत्र नं २ मा एमालेको भन्दा गठबन्धनको मत बढी छ । एमाले विभाजित हुनु र काँग्रेस, माओवादी र नेकपा एस मिलेर चुनाव लड्ने अवस्था बन्नुले नेम्वाङ्गलाई यसपटकको चुनाव कठिन देखिन्छ । त्यसमाथि जनता समाजवादी पार्टीका अशोक राई समूहहरुको पनि इलाममा केही पकड छ । त्यो मत पनि गठबन्धनमा गएमा नेम्वाङ्गलाई झन् कठिन हुनसक्छ ।

इलाम क्षेत्र नं १ बाट सांसद रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालका नेकपा एसमा छन् । उनका कारण पनि नेम्वाङ्गलाई चुनौती बढी देखिन्छ । यसपटक नेम्वाङ्ग यसकारण पनि चुनावी अग्निपरीक्षामा छन् ।



प्रतिक्रिया दिनुहोस्