Logo

एकीकृत समाजवादीलाई अहिलेको २४ सिट पक्का हुनैपर्छः उपमहासचिव



काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडाले स्थानीय तह निर्वाचनको आधारमा सिट भागबन्डा हुनै नसक्ने बताएका छन् ।
“स्थानीय तहको निर्वाचन भनेको आम निर्वाचन होइन । स्थानीय तहमा गठबन्धन गरेकाले सबैको भोटको क्यालकुलेसन आउन सक्दैन । हामीले त उम्मदेवारीको अवसर नै पाएनौं । त्यसैले स्थानीय तहको निर्वाचनलाई आधार मान्नुपर्ने कांग्रेसको प्रस्ताव परिपक्व छैन । त्यसरी सहकार्य हुँदैन । त्यसले राम्रो परिणाम आउने देखिँदैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता खतिवडाले भने ।
सिट बाँडफाँट फेरि पनि शीर्ष तहमै जानुपर्ने उनले औंल्याए । खतिवडाले थपे, “पहिले त अहिलेको संसद्मा एकीकृत समाजवादीको समानुपातिक र प्रत्यक्ष गरी २४ सांसद पक्का गर्नुपर्यो । त्यस्तै कांग्रेसको ६३, माओवादीको ५३ गरी १४० सिट पुग्छ । अनि बाँकी २५ वटा सिट बाँड्नुपर्छ । नत्र नेता कार्यकर्ताको संरक्षण हुन सक्दैन । त्यसमा दुईचार वटा तलमाथि होला । गठबन्धन सबै दलको आवश्यकता हो । त्यसमा दुईचार सिटको माया गर्नुहुँदैन । यसलाई एकल वा सामूहिक संवादबाट शीर्ष नेताहरु बसेर टुंग्याउनुपर्छ ।”
नागरिकता विधेयकमा आफ्नो पनि रिजर्भेसन रहेको उनले बताए । खतिवडाले थपे, “मोहर लगाउनुहुन्छ कि हुँदैन राष्ट्रपतिको कुरा हो । गर्न मन नलागे उहाँले राजीनामा गर्न सक्नुहुन्छ अथवा बिदामा बसेर उपराष्ट्रपतिमार्फत मोहर लगाउनु होला । त्यसले हित गर्यो कि गरेन ? संसदले ठीक गर्यो कि गरेन ? गठबन्धनले दम्भ देखायो कि देखाएन ? त्यसमा मेरा पनि रिजर्भेसन छन् । पार्टी निर्णयको खिलाफमा बोल्न नसकेको मात्र हो ।”



प्रतिक्रिया दिनुहोस्