काठमाडौं, भदौ ४ । हवाई यातायातबाट राज्यले अधिकतम फाइदा लिने उद्देश्यले देशभर निर्माण भएका ५३ विमानस्थलमध्ये १६ वटा विमानस्थल घाटामा सञ्चालन भइरहेका छन् । विमानस्थल निर्माणका लागि आवश्यकता, औचित्य र दीर्घकालीन रूपमा विमानस्थल सञ्चालनको सुनिश्चितता नहुँदा आन्तरिकतर्फका १६ वटा विमानस्थल बर्सेनि घाटामा सञ्चालन हुँदै आएका हुन् ।
हाल देशभर अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ गरेर ५३ विमानस्थल छन् । तीमध्ये आन्तरिकतर्फका १९ वटा विमानस्थल गौचरनमा परिर्वतन भइसकेका छन् । सञ्चालनमा रहेका विमानस्थलमध्ये विमानस्थलमध्ये १८ वटा विमानस्थल मात्रै नाफामा सञ्चालन हुँदै आएका छन् । सञ्चालनमा रहेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य विमानस्थल आन्तरिक उडानमा प्रयोग हुँदै आएका छन् । तराई र उच्च हिमाली क्षेत्रमा रहेका विमानस्थल मात्रै नाफामा रहेका छन् ।
रामेछाप विमानस्थलको घाटा धेरै
रामेछाप विमानस्थल सबैभन्दा बढी घाटामा छ । रामेछाप विमानस्थल गत आर्थिक वर्षमा १९ लाख आठ हजार रुपियाँ घाटामा रहेको छ । त्यसैगरी तीनवटा विमानस्थलले वार्षिक एक लाख रुपियाँसमेत आम्दानी गरेका छैनन् । करोडौँ रकम लगानी गरेर निर्माण भएका विमानस्थलमध्ये वार्षिक एक लाख रुपियाँसमेत आम्दानी नगर्ने विमानस्थलमा बैतडीको पाटन विमानस्थल, खोटाङको थामखर्क र मनमाया राई ९खानीडाँडा० विमानस्थल रहेका छन् । यी विमानस्थलमा वार्षिक आम्दानीभन्दा खर्च खर्च धेरै हुँदा घाटामा गएका हुन् ।
निर्माणाधीन विमानस्थल
देशभर विभिन्न ठाउँमा निर्माण भएका विमानस्थल सञ्चालन हुन नसकिरहेका र घाटामा गइरहेका बेला हाल सिन्धुली, अर्घाखाँची, कालीकोट, उदयपुर र तेह्रथुममा पनि आन्तरिक विमानस्थल निर्माण भइरहेका छन् ।
१८ वटा विमानस्थल नाफामा
प्राधिकरणका अनुसार आन्तरिकतर्फ हिमाली र तराई भेगका र अन्तर्राष्ट्रियतर्फका दुईसहित १८ विमानस्थल भने नाफामा छन् । हिमाली क्षेत्रमा सञ्चालनमा रहेका विमानस्थलमा विदेशी पाहुनाको चहलपहल र कार्गो उडानको सङ्ख्या र तराई क्षेत्रमा यात्रु धेरै भएकाले रात्रिकालीन उडानसमेत हुने गरेकाले ती विमानस्थल नाफमा देखिएका छन् ।
नाफामा रहेका विमानस्थलमध्ये त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अग्रस्थानमा छ । गत आर्थिक वर्ष यो विमानस्थलको नाफा पाँच अर्ब ३५ करोड रुपियाँ रहेको छ । गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलको नाफा चार करोड २१ लाख रुपियाँ छ । यी दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान हुन्छन् ।
आन्तरिक उडान मात्रै गर्ने विमानस्थलमध्ये सबैभन्दा बढी नाफा कमाउने विमानस्थल पोखरा विमानस्थल हो । यसको नाफा नौ करोड १७ लाख रुपियाँ छ । विराटनगर विमानस्थलको नाफा आठ करोड ७० लाख रुपियाँ छ भने नेपालगञ्ज विमानस्थलको नाफा छ करोड ४७ लाख रुपियाँ छ ।