Logo

धनकुटामा सुनील थापाको अग्निपरीक्षा, चुनावमा के होला



काठमाडौं, ४ भाद्र । धनकुटाको राजनीतिले पूर्वको मात्र नभई राष्ट्रिय राजनीतिमा पनि प्रभाव राख्ने गरेको छ । उक्ते क्षेत्रबाट विगतमा चुनाव जित्ने गरेका सुर्यबहादुर थापा पटक पटक प्रधानमन्त्री बनेका थिए । थापाको निधन भइसकेको छ । उनका छोरा सुनील बहादुर थापाले धनकुटालाई चुनावी क्षेत्र बनाएर राजनीति गर्दै आएका छन् ।

पूर्वमन्त्री समेत रहेका थापाले २०७४ मा नेकपा एमालेका राजेन्द्र कुमार राईसँग चुनाव हारेका थिए । त्यतिबेला राईसँग थापा साँढे १० हजार मतान्तरले पराजित भएका थिए । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका नेता थापा हाल नेपाली काँग्रेसका केन्द्रीय सदस्य छन् । उनी काँग्रेस प्रवेश गर्दा सहमहामन्त्री बनाइएका थिए ।

२०७९ को स्थानीय चुनावलाई आधार मान्दा धनकुटाको ७ पालिकामध्ये ४ पालिकामा नेपाली काँग्रेसले जितेको थियो । बाँकी ३ पालिकामा नेकपा एमालेले जितेको थियो । स्थानीय चुनावलाई आधार मान्दा नेपाली काँग्रेससहित सत्ता गठबन्धनको मत बढी छ ।

४ मंसिरको प्रतिनिधि सभा चुनावमा स्थानीय चुनावकै जसरी मत खसेमा काँग्रेसबाट सम्भावित उम्मेदवार सुनील थापाले जित्ने सम्भावना बलियो हुन्छ । त्यसमाथि पूर्वप्रधानमन्त्रीका छोरा र आफै पनि मन्त्री भइसकेका सुनील थापाका लागि अनुकूल परिस्थिति हो । उनी २०७० को चुनावमा धनकुटाबाट निर्वाचित सांसद पनि हुन् ।

विगतमा राप्रपाबाट राजनीति गरेका सुनील थापा काँग्रेस प्रवेश गरेपछि पहिलोपटक प्रतिनिधि सभा चुनाव लड्ने तयारीमा छन् । यसकारण पनि उनको अग्निपरीक्षा हुँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot