Logo

मनास्लु वर्ल्ड कलेजको अभिमुखीकरण कार्यक्रम सम्पन्न, गगन थापा र ऋषि धमलाले दिए टिप्स



काठमाडौं, ४ भदौ । चाबहिलको मनास्लु वर्ल्ड कलेजले अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार राजधानीको चाबहिल स्थित स्मार्ट प्यालेसमा आयोजित एक कार्यक्रमका बिच कलेजले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई स्वागत गरेको हो ।

स्थापनाकाल देखि नै अभिमुखीकरण कार्यक्रमलाई नियम पढाउने कार्यक्रम भन्दा पनि उत्प्रेरित गर्ने र हौसला बढाउँदै आगामी दिनका लागी विद्यार्थीलाई तयार गर्ने संस्कार बनाएको मनास्लुले यस पटक पनि त्यसलाई निरन्तरता दिएको हो ।

मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाको सभापतित्व र नेपाली काङ्ग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र ४ का संघीय सांसद गगन कुमार थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

त्यस्तै कार्यक्रममा चर्चित पत्रकार ऋषि धमला, उत्प्रेरक वक्ता विकास देव योञ्जन, कमेडियन महादेव त्रिपाठी, गायक उर्गेन दोङ लगायत विभिन्न क्षेत्रमा स्थापित दिग्गज व्यक्तित्वहरू अतिथिका रूपमा रहेका थिए भने विशेष प्रस्तुति पनि दिएका थिए। कार्यक्रममा मनास्लुमा कक्षा ११ मा भर्ना भएका विद्यार्थी, शिक्षक, शिक्षिका तथा शुभचिन्तकहरूको व्यापक उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै विद्यार्थीलाई स्वागत गरेका मनास्लु वर्ल्ड कलेजका अध्यक्ष गेन्द्र लामाले स्थापनाकालको तेस्रो वर्षमै आफूलाई प्रमाणित गर्दै मनास्लुले आफ्नो अस्तित्व स्थापित गरेको बताए । करिब १० हजार विद्यार्थीहरूले कक्षा ११ पढ्नका लागि मनास्लुमा `इन्क्वाइरी´ गरेको र त्यस मध्य प्रवेश परीक्षा मार्फत छानिएर ६०० विद्यार्थीले मात्रै भर्ना पाएको हुँदा उपस्थित विद्यार्थीहरू भाग्यमानी भएको उनको भनाई थियो ।

फरक सोच सहित स्थापित कलेज भएकाले कार्यक्रम पनि फरक हिसाबले राखिएको र उत्प्रेरणा तथा मनोरञ्जनले भरिपूर्ण बनाएको उनले उल्लेख गरे । देशभर बाट उज्ज्वल भविष्य निर्माण गर्ने महान् अभिलाषा बोकेर आएका सबै विद्यार्थीको सपना पूरा गर्न मनास्लु सफल हुने विश्वास सहित उनले सबै विद्यार्थीलाई स्वागत गरे।

त्यस्तै, रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले मनास्लुले आश्चर्यजनक रूपमा छोटो समयमै लोभलाग्दो प्रगति गरेको र यही गतिमा गए देशको समग्र शैक्षिक भविष्य नै परिवर्तन गर्न सक्ने ल्याकत राख्ने उल्लेख गरे।

नेपाल आज शिक्षाको विकास हुन नसकेकै कारण पछाडि परेको भन्दै उनले हरेक क्षेत्रमा भोलि मनास्लुका विद्यार्थीले नेतृत्व गर्ने विश्वास आफूले लिएको बताए । अबको पुस्ताले समग्र देशको जिम्मा लिनुपर्ने भन्दै उनले विद्यार्थीलाई त्यसका लागि हिम्मत र साहस देखाउन सुझाव दिए । मनास्लु जस्तो कलेजमा पढ्न पाउनु विद्यार्थीको लागि गौरवको विषय भएको उनले बताए । छोटो समयमा चमत्कार गरेको मनास्लुले स्थापित कलेजहरूलाई चुनौती थपेको उनको भनाइ थियो ।

स्वागत नृत्यसहित कार्यक्रम अवधिभर मनास्लुका विद्यार्थीका प्रतिभाले भरिपूर्ण विभिन्न प्रस्तुतिले कार्यक्रमलाई अझै रोचक बनाएको थियो । मनास्लुकि विद्यार्थी आकृति थापा लिम्बुले नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै दिएको दमदार अङ्ग्रेजी स्वागत मन्तव्य मार्फत मनास्लुले आफ्नो गुणस्तरको परिचय दिएको थियो ।

कार्यक्रममा प्रत्येक विषय किन र के का लागि पढ्ने ? मनास्लुमा त्यो विषयको अध्यापन कसरी हुन्छ? लगायत विषयमा विभाग प्रमुखहरूले छुट्टाछुट्टै प्रस्तुति दिएका थिए । त्यस्तै मनास्लुले विभिन्न विषयहरूमा दिने सुविधा र ती विषयका विशेषताहरू बारे जानकारी दिँदै मनास्लुका एकेडमीक हेड शशी केसीले कलेजको पहिलो उद्देश्य बोर्ड टपर बन्ने रहेको बताए । सँगै इसिएमा उत्कृष्टता ल्याउने अर्को उद्देश्य पनि कलेजले राखेको उनको भनाई थियो । यति हुँदाहुँदै पनि सबैभन्दा प्रमुख उद्देश्य चाहिँ संस्कारी विद्यार्थी उत्पादन गर्नु रहेको उनले उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छोटो समय सम्बोधन गर्दै विद्यार्थीलाई महत्त्वपूर्ण सन्देश दिएका थिए । आफ्नो विद्यार्थी कालको अनुभव सुनाएका उनले प्लस टु पढ्ने उमेर अति संवेदनशील हुने भन्दै यो उमेरमा विद्यार्थीले अपनाउनुपर्ने सजगताका बारे सचेत गराएका थिए । खास गरी आफ्नो एक मित्रको उदाहरण दिँदै राम्रो पढ्ने साथी कुलतमा फसेर कसरी उसको जीवन बर्बाद भयो भन्ने विषय थापाले उठाएका थिए ।

उनले आफ्नो जीवनको उद्देश्य पत्ता लगाउन र निरन्तर त्यसमै लाग्न विद्यार्थीलाई सुझाव दिए । आज आफूले गर्ने निर्णयको भारी जीवनभर आफैले बोक्नुपर्ने भन्दै उनले सही निर्णय लिन, प्रविधिको सही सदुपयोग गर्न र सकारात्मक धारणा बनाउन विद्यार्थीलाई अपिल गरे। छोटो समयमै आफ्नो गुणस्तर बाट आफूलाई प्रमाणित गर्न सफल मनास्लु सँग विद्यार्थीको शैक्षिक यात्रा अर्थपूर्ण बन्ने विश्वास आफूले लिएको उनको भनाई थियो।

कार्यक्रममा अन्य वक्ताहरूले पनि यो ३ वर्षे यात्रामा नै आफूलाई अब्बल साबित गरिसकेको मनास्लु `हुने बिरुवाको चिल्लो पात ´ भनेझैँ दिन दिनै प्रमाणित हुँदै गरेको उल्लेख गरे। उनीहरूले मनास्लुको आगामी यात्राका लागि शुभकामना दिए। यस  वर्ष कक्षा ११ मा ६०३ जना विद्यार्थी भर्ना गरेको खुसीयालीमा त्यही सङ्ख्या लेखिएको केक काटेर कार्यक्रममा मनास्लु परिवारले खुसी मनाएको थियो।



प्रतिक्रिया दिनुहोस्