Logo

प्रकाशमान सिंहले के काठमाडौं-१ बाट चौंथोपटक चुनाव जित्न सक्लान् (अंकगणितसहित)



काठमाडौं, ५ भाद्र । नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले ४ पटक चुनाव जितिसकेको क्षेत्र हो काठमाडौं क्षेत्र नं १ । यो क्षेत्र पञ्चायतकाल होस् या बहुदल नै किन नहोस् चासोको केन्द्र बन्दै आयो ।

काठमाडौं क्षेत्र नं १ मा कुनैबेला तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई तत्कालीन एमाले महासचिव मदन भण्डारीबाट पराजित भएका थिए । मदन भण्डारीको निधनपछि उपनिर्वाचनमा भट्टराई नै उम्मेदवार बने । उनी विद्या भण्डारीबाट पराजित भए । उनै भण्डारी अहिले देशको राष्ट्रपति छिन् ।

काठमाडौं १ बाट चुनाव जितेर मनमोहन अधिकारी देशको प्रधानमन्त्री बनेका थिए । पूर्वमन्त्री प्रदीप नेपाल पनि सोही क्षेत्रबाट चुनाव जित्न सफल भएका थिए । २०६५ को संविधानसभा चुनावमा प्रदीप नेपाललाई पराजित गर्दै प्रकाशमान सिंहले चुनावी जित निकाले ।

सिंह काठमाडौं १ बाट लगातार तीन पटक चुनाव जित्न सफल भइसकेका छन् । उक्त क्षेत्र काँग्रेसको पकड क्षेत्र हो ।

२०७० मा पनि सिंह नै चुनाव जित्न सफल भए । उनी फराकिलो मतान्तरले जित्न सफल भएका थिए । उक्त जीतपछि उपप्रधानमन्त्री समेत बनाइए ।
२०७४ को चुनाव भने सिंहलाई कठिन भयो । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रले सिंहलाई कडा चुनौती दिएका थिए । सिंहले १० हजार ९३६ मत ल्याउँदा मिश्रले १० हजार ११८ मत ल्याएका थिए । त्यतिबेला माओवादीका अनिलकुमार शर्माले ५ हजार ३३६ मत ल्याए ।

२०७९ को स्थानीय चुनावको परिणामलाई दृष्टिगत गर्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्रका बालेन साह विजयी भए । प्रकाशमान सिंहकी पत्नी सृजना सिंह पराजित भइन् । यो नतिजाले प्रकाशमानको राजनीतिलाई पनि धक्का पर्ने विश्लेषण नभएको होइन । तर, वडा तहको परिणाम हेर्दा एमालेभन्दा काँग्रेसको मत बढी देखिन्छ ।

काठमाडौं क्षेत्र नं १ मा पर्ने महानगरपालिकाका १०, ११ र २९ मा काँग्रेसले वडाध्यक्ष जितेको छ । एमालेले वडा नं ३१ मा जितेको छ । चारवटै वडाको काँग्रेस र एमालेको वडाध्यक्षको मतपरिणाम जोड्दा साँढे ३ सय मतान्तर छ ।

काँग्रेससहितको सत्ता गठबन्धनको साझा उम्मेदवार बनेमा सिंह एमाले र राप्रपाको साझा उम्मेदवारभन्दा १६३ मत मात्र बढी देखिन्छ । विवेकशील साझाको कुल २६७ मत देखिन्छ ।

काठमाडौं १ मा स्वतन्त्रका कतिपयले उम्मेदवारी घोषणा गरिसकेका छन् । स्वतन्त्रले बढी मत तान्ने अवस्था बन्यो भने सिंहलाई झन् चुनौती बन्न सक्छ ।

सिंहलाई एमाले फुटेकाले चुनावमा फाइदा देखिन्छ । अर्कोतर्फ, उनीसँग लामो राजनीतिक अनुभव छ । उपप्रधानमन्त्री भइसकेका उनी काँग्रेस सभापतिका दाबेदार बनिसकेका छन् । पार्टी नेतृत्व देखि देशको नेतृत्व लिने चाहना व्यक्त गर्दै आएका छन् । उनी हेभिवेट उम्मेदवार हुन् । उनको प्रतिष्पर्धी को हुन् भन्नेले पनि चुनावमा असर गर्छ ।

एमालेबाट राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीको पनि काठमाडौं १ बाट चुनाव लड्ने चर्चा छ । रवीन्द्र मिश्रको पनि त्यही क्षेत्रमा ध्यान छ । स्वतन्त्रका नाम चलेका उम्मेदवारहरु पनि त्यहीं ध्यान दिइरहेका छन् । तर, सिंहको अनुभव र प्रभावका सामु कसैलाई पनि सजिलो छैन । यद्यपि, चुनावी माहोल यसै भन्न सकिदैन । चौंथोपटक काठमाडौं १ बाट फेरि चुनाव लडेर जनतालाई विश्वास दिलाउने उनमा ठूलो चुनौती छ ।



प्रतिक्रिया दिनुहोस्