Logo

माधव नेपाल जितेको काठमाडौं-२ मा कस्को पल्लाभारी (अंकगणितसहित)



काठमाडौं, ५ भाद्र । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल काठमाडौं-२ या रौतहट-१ मध्ये कुन क्षेत्रबाट उम्मेदवार बन्ने हुन् ? चासो बनेको छ । २०७४ को चुनावमा उनी काठाडौं २ बाट विजयी भएका थिए । विगतमा पनि उनी उक्त क्षेत्रलाई चुनावी क्षेत्र बनाउँदै आएका छन् ।

काठमाडौं-२ बाट २०७४ को चुनावमा नेपाल २७ हजार ३६६ मत ल्याई विजयी हुँदा नेपाली काँग्रेसका दिपक प्रसाद कुईँकेलले १४ हजार ९०३ मत ल्याएका थिए । विवेकशील साझाका सूर्य राज आचार्यले ७ हजार ४३७ मत ल्याएका थिए ।

२०७४ बाट २०७९ मा आइपुग्दा बागमती नदीमा धेरै पानी बगिसकेको छ । माधव नेपाल नेकपा एमालेबाट अलग भई नेकपा एस बनाइसकेका छन् ।

स्थानीय चुनाव २०७९ को चुनावी परिणामको तथ्यांकलाई विश्लेषण गर्दा सबैभन्दा बढी मत नेकपा एमालेको १७ हजार ४३३ देखिन्छ । नेकपा एसको १० हजार ९०, नेपाली काँग्रेसको ९ हजार ५७०, राप्रपाको ८ हजार ४९७ र माओवादीको ३ हजार ७५ छ ।

सत्ता गठबन्धनको साझा उम्मेदवार बनेमा २३ हजार मत देखिन्छ । एमाले र राप्रपा मिलेर चुनाव लडेमा २५ हजार मत देखिन्छ । यसकारण पनि त्यहाँ कडा चुनावी प्रतिष्पर्धा हुने आँकलन गरिएको छ ।

स्वतन्त्र उम्मेदवारहरु पनि काठमाडौं २ मा सक्रिय छन् । यसले चुनावी परिणाम सोचे भन्दा फरक आउन आँकलन भइरहेका छन् । उम्मेदवारको व्यक्तित्वले पनि मतपरिणामलाई प्रभावित गर्न सक्छ ।

माधव नेपाल रौतहटबाट चुनाव लडेमा यो क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार अघि सर्ने सम्भावना छ । एमाले र राप्रपा मिलेर चुनाव लड्दा यो क्षेत्रबाट राप्रपाका उम्मेदवार अघि सर्ने सम्भावना पनि छ । तर, एमालेबाट राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीको चर्चा छ ।
काठमाडौं २ मा चुनावी प्रतिष्पर्धा रोचक बन्ने निश्चित नै छ । विगत र वर्तमानलाई विश्लेषण गर्दा कुनै पनि दलका उम्मेदवार ढुक्क हुने अवस्था छैन ।



प्रतिक्रिया दिनुहोस्