काठमाडौं, ५ भाद्र । काठमाडौं महानगरपालिकाको एक, गोकर्णेश्वर नगरपालिका, कागेश्वरी मनहराको तीन वटा वडा पर्ने काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेस र नेकपा एमालेको बलियो पकड रहेको विगतमा भएका चुनावहरुले देखाउँछ । २०७४ को चुनावमा एमालेका कृष्णबहादुर राई विजयी हुँदा काँग्रेसकी अम्बिका बस्नेतभन्दा साँढ ३ हजार मत बढी ल्याएका थिए ।
एमाले विभाजित हुनुले उसको मतमा असर परिसकेको छ । २०७९ को स्थानीय चुनावमा गोकर्णेश्वरको मेयरमा काँग्रेस उम्मेदवार जिते । त्यहाँ नेकपा एसको १८४१ मत नै एमाले पराजित हुनुको कारण देखियो ।
कागेश्वरीको १, २ र ३ गरी तीनैवटा वडामा एमाले उम्मेदवारले वडाध्यक्ष जिते । काठमाडौं महानगरपालिकाको ६ वडामा काँग्रेस उम्मेदवार एमालेभन्दा ११ सय मत बढी ल्याएर जिते ।
विगत चुनाव र स्थानीय निकायको हालैको चुनावलाई आधार मान्दा काठमाडौं ३ मा नेपाली काँग्रेसको मत एमालेको भन्दा २ हजारले बढी देखिन्छ । सत्ता गठबन्धन मिलेर चुनावमा गए एसको २५ सय २० मत जोड्दा एमाले र राप्रपाको मतभन्दा बढी देखिन्छ ।
स्थानीय तहको चुनाव र प्रतिनिधि सभा चुनावमा फरक नै हुने भएकाले कस्को पल्लाभारी हुने भन्ने यकित गर्न कठिन हुन्छ । स्वतन्त्र उम्मेदवारहरु पनि सक्रिय भएकाले चुनावी परिणाम सोचे भन्दा फरक आउन सक्छ । उम्मेदवारको व्यक्तित्व, प्रभाव र जनताले उनीहरुप्रति लिने विश्वासले काठमाडौंको मतदातालाई क्षणभरमै प्रभावित बनाउन सक्छ । यसकारण पनि उक्त क्षेत्रमा चुनाव रोचक हुने देखिदैछ ।