Logo

प्रदीप गिरि शीर्ष नेताहरूको आँखामा आँखा जुधाएर निर्भीकतासाथ कुरा राख्न सक्ने एक्लो नेता हुन्थ्यो, कदमजमको प्रणेता उहाँ नै होः दीपकुमार उपाध्याय



काठमाडौं, ६ भदौ । नेपाली कांग्रेसका नेता एवं कूटनीतिज्ञ दीपकुमार उपाध्यायले राजनीतिज्ञ प्रदीप गिरि मूल्य, मान्यता, आदर्श र निष्ठाका पर्याय भएको बताएका छन् ।
“राजनीतिमा बोल्छन् तर व्यवहारमा खह्रो उत्रन गाह्रो छ । तर प्रदीप गिरिले आफूलाई व्यवहारमा पनि फरक पार्नुभएन । नेपाली कांग्रेसको कदमजम (कर्णाली, दलित, मधेसी, जनजाति, महिला) को नीति उहाँले नै ल्याउनुभएको हो । उहाँले संसद्मा बोलेका र मिडियामा बोलेका कुरा हेर्ने हो भने निमुखा, विपन्न र गरिबहरुको पक्षमा उहाँले जति बोल्ने नेता कमै छन्,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता उपाध्यायले भने ।
उपाध्यायले गिरि भेदभाव, छुवाछुत, उत्पीडनमा परेका जनताको नेता भएको पनि बताए । उनले भने, “आजको नेपाली राजनीतिमा सिद्धान्तनिष्ठताको खडेरी छ । उहाँले मृत्युशैयामा रहँदा पनि राज्यलाई भार नपार्नुस् भनिरहनुभयो । भेदभाव, छुवाछुत, उत्पीडनमा परेका जनता काठमाडौं नै आएर उहाँप्रति हृदयदेखि भावपूर्ण श्रद्धाञ्जलि दिन चाहन्थे । उहाँले पक्ष र विपक्ष दुवैको न्यानोपन कमाउनुभयो । राजनीति गर्ने मान्छेले कमाउने भनेको यस्तै आर्जन हो ।” उनीहरुका लागि गिरिको जन्मथलो, सिराहाको बस्तीपुरस्थित आश्रममा नै अस्तु विसर्जन कार्यक्रम राखिने पनि उनले बताए ।
प्रदीप गिरिले पार्टीभन्दा माथि उठेर राजनीति गरेको पनि उनले औंल्याए । उपाध्यायले भने, “उहाँले एउटा पार्टीलाई मात्र नभएर राष्ट्रलाई नै शिरमा राखेर सोच्नुभयो । यस अर्थमा उहाँ एक्लो वृहस्पति झूटो भनेजस्तै हो । जीवनको अन्तिम समयमा पनि उहाँलाई राष्ट्रकै चिन्ता थियो । युवा पुस्तालाई विश्वास गर्नुपर्छ भन्नुहुन्थ्यो । उहाँसँग शीर्ष नेताहरुको आँखामा आँखा जुधाएर आफ्नो कुरा निर्भीकतापूर्वक राख्न सक्ने अलौकिक व्यक्तित्व थियो ।”



प्रतिक्रिया दिनुहोस्