Logo

प्राज्ञिक विद्यार्थी परिषदद्वारा दोलखाको भीमेश्वरस्थित कालिन्चोक माविमा शैक्षिक सामाग्री वितरण



काठमाडौं, ६ भाद्र । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दोलखाको भिमेश्वर नगरपालिकामा रहेको श्री कालिन्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत २१७ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

परिषदले सिन्धुपाल्चोकको शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको र बाकी ९ वटा हिमाली जिल्ला रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गर्न गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्यौपाने जानकारी दिए ।

कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले विगत २७ बर्षदेखि निरन्तर सेवा कार्यहरू गर्दै आइरहेको र यसलाई निरन्तरता दिने क्रममा परिषद्ले ११ वटा हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको र वितरण गरिएको सामग्रीमा प्रति विद्यार्थी व्याग, ५ वटा कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायत रहेको उल्लेख गरे । भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले परिषदको यो सेवा कार्यको उच्च प्रसंशा गर्दै आफ्नो नगरको कालिन्चोक माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको र यस कार्यक्रममा नगरपालिकालाई स्मरण गरेकोमा परिषदलाई धन्यवाद प्रदान गरे ।

विद्यालयका प्राचार्य नवराज सुवेदीले जिल्लाको उत्कृष्ट विद्यालय रहेको आफ्नो कालिन्चोकका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकोमा विद्यार्थी परिषद परिवारलाई आभार व्यक्त गरे ।

उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्यौपाने, भीमेश्वर ईश्वरनारायण मानन्धर, दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, कालिन्चोक माध्यमिक विद्यालयका प्राचार्य नवराज न्यौपाने, व्यवस्थापन समिति अध्यक्ष सुवास श्रेष्ठ, कालिन्को बहुमुखी क्याम्पस प्रमुख एवं हिन्दू स्वयंसेवक संघ नेपालका जिल्ला संघचालक कृष्ण बहादुर गौतमलगायतको उपस्थित रहेको थियो ।

२०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह ९कक्षा ११ र १२० क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै व्यक्ति असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्