Logo

चुनावी अंकगणितः काठमाडौं-६ मा कस्ले मार्ला बाजी



काठमाडौं, ६ भाद्र । काठमाडौं क्षेत्र नं ६ विगतमा कम्युनिस्टहरुको प्रभाव क्षेत्र मानिन्थ्यो । विगतमा उक्त क्षेत्रबाट साहना प्रधान, अष्टलक्ष्मी शाक्यले जितेका थिए । पहिलो संविधानसभाको निर्वाचनमा माओवादीका हितमान शाक्यले जिते ।

२०७० र २०७४ को चुनावमा भने नेपाली काँग्रेसका भीमसेनदास प्रधानले जिते । प्रधान रक्षामन्त्री भइसकेका छन् ।

काठमाडौं ६ बाट २०७४ मा भीमसेनदान प्रधानले माओवादीका झक्कुप्रसाद सुवेदीलाई १३ सय मतान्तरले पराजित गरेका थिए । यसपटक काँग्रेस र माओवादीले चुनावी गठबन्धन बनाउने सहमति भएको छ । २०७४ को चुनावलाई मात्र आधार मान्ने हो भने गठबन्धनका उम्मेदवार निकै मजबुत हुने देखिन्छ । तर, बागमतीमा धेरै पानी बगिसकेको छ ।

काठमाडौं ६ मा महानगरपालिकाका २६, २७ र २८ वडा पर्दछन् । तीनवटै वडामा काँग्रेसले वडाध्यक्ष जितेको छ । टोखा नगरपालिकाको १, ८, ९, १० र ११ वडा पर्दछन् । जसमध्ये वडा १ बाहेकमा एमालेले वडाध्यक्ष जितेको छ ।

ताकेश्वर नगरपालिकाको १, २, र ६ देखि ११ वडा पर्दछन् । त्यहाँको १ र ९ वडाबाहेकमा काँग्रेसले वडाध्यक्ष जितेको छ ।

काठमाडौं ६ को वडाध्यक्षले प्राप्त गरेको कुल मतलाई जोड्दा काँग्रेस सबैभन्दा स्थानीय चुनाव २०७९ लाई आधार मान्दा काठमाडौं ६ मा बढी १७ हजार २७७ ले अगाडि देखिन्छ । एमाले १४ हजार ३०३, माओवादी २ हजार ३०५, नेकपा एस एक हजार ८५९ र राप्रपा १ हजार ७१३ मत पाउन सफल भएको थियो । यो मतका आधारमा गठबन्धन एमालेभन्दा ६ हजारभन्दा बढी मतले अगाडि छ । एमाले र राप्रपा मिलेमा रोचक चुनावी भिडन्तको सम्भावना देखिन्छ ।

काठमाडौं ६ मा स्वतन्त्र उम्मेदवारहरु पनि मैदानमा देखिन थालेका छन् । यसले चुनावी परिणामलाई असर पार्न सक्छ । राजनीतिक माहोल मौसम जसरी बदलिइरहँदा यसपटक काठमाडौं ६ मा कसैका लागि पनि सजिलो छैन । उक्त क्षेत्रमा दुईपटक लगातार चुनाव जितेका भीमसेनदान प्रधानको बलियो उम्मेदवारी दाबी हुनसक्छ । त्यहाँ एमाले या राप्रपामध्ये कस्ले उम्मेदवार बढाउने चासो बढेको छ । अर्कोतर्फ, रवि लामिछानेको दलबाट पनि उम्मेदवारको चर्चा छ । यसकारण उक्त क्षेत्रमा बहुपक्षीय प्रतिष्पर्धा हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot