Logo

चुनावी अंकगणितः काठमाडौं ८ मा कस्को स्थिति के



काठमाडौं, ६ भाद्र । काठमाडौं क्षेत्र नं ८ कहिले वामपन्थी त कहिले काँग्रेस उम्मेदवारले जित्दै आएको क्षेत्र हो । काँग्रेसका दिवंगत नेता नवीन्द्रराज जोशीले यो क्षेत्रबाट दुईपटक चुनाव जितेका थिए । २०७४ को चुनावमा उनी तत्कालीन एमाले र हाल नेकपा एसमा गएका जीवनराम श्रेष्ठबाट झीनो मतान्तरले पराजित भएका थिए ।

काठमाडौं ८ का बहालवाला सांसद जीवनराम श्रेष्ठ पर्यटनमन्त्री छन् । उनी नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका विश्वासपात्र मानिन्छन् ।
मंसिर ४ को चुनावमा सत्ता गठबन्धनबाट जीवनराम श्रेष्ठ नै उम्मेदवार बन्ने प्रबल सम्भावना छ । त्यहाँबाट एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी पर्ने सम्भावना देखिन्छ । स्वतन्त्र उम्मेदवारहरुको पनि बलियो दाबेदारी देखिन्छ ।

२०७४ को चुनावमा तत्कालीन एमालेका जीवनराम श्रेष्ठले १३ हजार ३९७ मत ल्याउँदा काँग्रेसका नवीन्द्रराज जोशीको १२ हजार ९६३ मत थियो । २०७९ को स्थानीय चुनावमा उक्त क्षेत्रमा पर्ने एक महानगरपालिका र एक नगरपालिका गरी ८ वडाहरुको वडाध्यक्षको मतलाई जोड्दा सबैभन्दा बढी काँग्रेसको १० हजार ८७२ छ । एमालेको ९ हजार २५३ र नेकपा एसको ५ हजार १४२ मत छ ।

सत्ता गठबन्धनको मत जोड्दा एमालेको भन्दा ६ हजार मतले बढी देखिन्छ । तर, राप्रपाको ३ हजार १६० मत एमालेको मतसँग जोड्दा मतान्तर घट्छ । यसकारण यो क्षेत्रमा चर्को प्रतिष्पर्धा हुने देखिन्छ । स्वतन्त्रका बलिया उम्मेदवारले मूलधारका दललाई कडा चुनौती दिने सम्भावना उत्तिकै छ ।

स्थानीय चुनावमा निर्वाचन क्षेत्र नं ८ मा पर्ने काठमाडौं महानगरपालिकाका १३ र २३ नम्बर वडामा एमालेले जितेको थियो । १५ मा नेकपा एस, १९, २० र २४ मा काँग्रेसले जितेको थियो ।

क्षेत्र नं ८ मा पर्ने नागार्जुनको क्षेत्र नं ४ मा काँग्रेस र ५ मा राप्रपाले जितेको थियो । यसले पनि चुनावी प्रतिष्पर्धा रोचक बन्ने देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot