Logo

सर्लाही–३ बाट उम्मेद्धवारी घोषणा गरेका पञ्च सिंतानले भने–‘संवैधानिक राजा चाहिन्छ’ (भिडिओसहित)



काठमाडौं, ६ भदौ । सर्लाही–३ बाट प्रतिनिधिसभा सदस्यका लागि पञ्च बहादुर सिंतानले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सिंतानले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् ।

सिंतानले आफु संवैधानिक राजाको पक्षमा भएको बताए । तर, राजाको अधिकार क्षेत्र भने तोकिनुपर्ने उनको भनाई छ । उनले हिन्दूराष्ट्र वा धर्मनिरपेक्षता के चाहेको हो भनेर यसबारे जनमतसंग्रह गरेर फैसला लिईनुपर्ने बताए ।

उनले जनताको शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित्ता गर्न आफूले उम्मेदवारी दिन लागेको स्पष्ट पारे । कृषिलाई आधुनिकीकरण गर्नुपर्ने आफ्नो प्रमुख लक्ष्य रहेको उल्लेख गर्दै भने,‘बजारको उचित व्यवस्थापन गर्ने र किसानलाई चाहिने बिऊ, मल–खाद, सिंचाईजस्ता अधारभुत आवश्यकत्ता तथा कृषि औजारका सामग्रीहरु स्थानीयस्तरमा उत्पादनका साथै समय सिमाभित्र उपलब्ध गराई किसानलाई आत्मनिर्भर बनाउन पहल गर्नेछु ।’

नेपाली नागरिकलाई कुनैपनी हालतमा नगरिकताबाट वञ्चित गर्न नहुने उनको भनाई छ । उनले अन्य राष्ट्रबाट आएर बसोबास गर्नेहरूको हकमा भने नियमानुसार नागरिकता प्रदान गर्नुपर्ने धारणा राखे ।

उनले राजनीति दलहरुले गरेका असमान सन्धि तथा सम्झौता खारेज गर्ने र देशको हितविपरीत कुनैपनि सन्धि सम्झौता नगर्ने पनि उनको प्रतिबद्धता छ । देश र जनतालाई दूरगामी असर पर्ने किसिमका कुनैपनी गतिविधि कसैलाई गर्न दिन नहुने उनको टिप्पणी थियो । यदि त्यस्तो कसैले गरेमा महाअभियोग लगाई देश निकाला गरी उसको उत्तराधिकारीलाई राजा घोषणा गरी कार्यसम्पादन गर्ने समेत बताए ।

उनले गाँजा तथा अन्य जडीबुटीको उत्पादनमा वृद्धि गर्नुका साथै खनिज पदार्थको उत्खनन् तथा प्रशोधन गरी बजार व्यवस्थापन गर्नुपर्ने चुनावी घोषणापत्रमा उल्लेख गरेका छन् । गाँजाको बजार व्यवस्थापन गरी व्यापारमा जोड दिने र वैधानिक रुपमा मान्यता दिलाउने उनको प्रतिबद्धता छ ।

संघीयता एवं प्रदेश वा ५ विकास क्षेत्रमध्ये जनमतसंग्रह गरी जनताको चाहना र भावनाबमोजिम आफू अघि बढ्ने पनि उनले बताए । सिंतानले १५ वर्ष मुनिका बालबालिकालाई जवरजस्ती करणी गर्नेलाई आजिवन कारावासको सजाय र १५ वर्ष भन्दा माथि उमेर भएका बालिकाको हकमा ७ देखी १४ वर्ष सम्मको कारागार हुने व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख गरेका छन् ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्