काठमाडौं, ६ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कठिन घडीमा सधै साथ दिने नेताको परिचय बनाएका छन् कृष्णगोपाल श्रेष्ठले । आक्रामक स्वभावका श्रेष्ठले जस्तोसुकै आरोह अवरोहमा पनि ओली क्याम्प छाडेनन् । फलस्वरुप उनलाई ओलीले प्रधानमन्त्री हुँदा मन्त्री बनाए ।
श्रेष्ठ काठमाडौं क्षेत्र नं ९ बाट निर्वाचित सांसद हुन् । उनले काँग्रेसका ध्यान गोविन्द रञ्जितलाई ८ हजार मतान्तरले पराजित गरेका थिए । त्यतिबेला श्रेष्ठलाई माओवादीको पनि समर्थन थियो ।
२०७९ को स्थानीय चुनावसम्म आइपुग्दा एमाले फुट्यो । माओवादी काँग्रेससहितको गठबन्धनमा छ । स्थानीय चुनावको मतलाई आधार मान्दा ४ मंसिरमा हुने चुनावमा कडा प्रतिष्पर्धा हुने देखिन्छ ।
स्थानीय चुनावमा काठमाडौं ९ को पालिकाहरु पर्ने वडाको मत जोड्दा काँग्रेसको सबैभन्दा बढी २० हजार १६ छ । एमालेको १९ हजार २८२ छ । राप्रपाको २ हजार २२९ र माओवादीको ६ सय ९५ छ । नेकपा एसको ४६५ छ ।
गठबन्धन एक भएर चुनाव लडेमा एमालेलाई कठिन हुन्छ । सम्भवत एमालेबाट कृष्णगोपाल श्रेष्ठ नै उम्मेदवार बन्ने सम्भावना छ । उक्त क्षेत्रमा काँग्रेसको दाबी रहनसक्छ । स्वतन्त्र उम्मेदवारहरुको पनि बलियो उपस्थिति देखिदैछ ।
एमाले फुटेको फाइदा लिन काँग्रेससहितको गठबन्धन लागेका छन् । दलहरुप्रतिको वितृष्णाको फाइदा लिन स्वतन्त्र उम्मेदवारहरु रणनीतिक तरिकाले लागेका छन् ।