काठमाडौं, ६ भाद्र । ललितपुर क्षेत्र नं १ सधै चासो र चर्चामा आउने गरेको चुनावी क्षेत्र हो । नेपाली राजनीतिमा नैतिकताको ऐतिहासिक सन्देश दिएका केशरबहादुर बिष्ट उक्त क्षेत्रबाट पटक पटक चुनाव लडेर हारे ।
पञ्चायतकालमा पटक पटक मन्त्री भएका बिष्टले २०४५ रङ्गशालामा फुटबल हुँदै गर्दा आँधीबेहरी आउँदा भएको भागदौडमा ९३ जनाको मृत्यु भएको घटनाको नैतिक जिम्मेवारी लिदै राजीनामा दिएका थिए । बिष्ट बहुदलमा पनि मन्त्री भएका थिए ।
बिष्ट २०४८ को आमनिर्वाचनमा एमालेका मीठाराम शर्मा बजगाईंबाट ४ हजार मतान्तरले पराजित भएका थिए । २०५१ मा पनि मीठाराम नै विजयी भए । काँग्रेसका सागर शमशेर राणा झण्डै १८ सय मतले पछि परे । २०५६ को चुनावमा एमालेकी सुशीला नेपालले झण्डै ४ हजार मतले स्वतन्त्र उम्मेदवार केशरबहादुर बिष्टलाई पराजित गरेकी थिइन् । बिष्टले त्यतिबेला काँग्रेसबाट टिकट नपाएर विद्रोह गरेका थिए । सागर शमशेर राणा तेस्रो भएका थिए ।
२०६५ को पहिलो संविधानसभाको चुनावमा माओवादीका वर्षमान पुनले बाजी मारे । सागर शमशेर राणाका छोरा उदय शमशेर राणा १३ सय मतान्तरले पराजित भए । एमालेका मधुसुदन पौडेलले पनि प्रतिष्पर्धामा देखिए ।
२०७० को चुनावमा भने लालकील्ला मानिएको ललितपुर १ मा १८ हजार ५६० मत ल्याउँदै उदय शमशेरले बाजी मारे । उनले ८ हजार मतान्तरले एमालेका मधुसुदन पौडेललाई पराजित गरे । राप्रपा नेपालका उम्मेदवार केशरबहादुर बिष्टले ६ हजार ७ मत ल्याए ।
२०७४ को चुनाव रोचक बन्यो । आइजीपी बन्नबाट रोकिएका नवराज सिलवाललाई एमालेले टिकट दियो । पूर्वडिआइजी सिलवालले काँग्रेसका उदय शमशेर जबरामाथि ६ हजार मतान्तरको जित निकाले ।
यसरी सधै चासोको क्षेत्र बनेको ललितपुर १ मा यसपटक सत्ता गठबन्धनबाट काँग्रेसका उदय शमशेर राणा नै उम्मेदवार बन्ने चर्चा छ । एमालेबाट नवराज सिलवाल या सुशीला नेपालमध्ये एकको चर्चा छ । केशर बहादुर बिष्ट फेरि सोही क्षेत्रबाट उम्मेदवार बन्ने हुन् या होइनन् ? चासो बनेको छ ।
स्थानीय चुनावको मतलाई आधार मान्दा ललितपुर १ मा काँग्रेसको मत बढी देखिन्छ । ललितपुर १ मा पर्ने महाकाल गाउँपालिका र बागमती गाउँपालिकामा काँग्रेसले पालिका प्रमुख जितेको थियो । एमालेले कोञ्ज्योसोम गाउँपालिकाको प्रमुख जित्यो । गोदावरी नगरपालिकाको मेयर पनि काँग्रेसले जित्यो । त्यहाँ १२ र १४ बाहेकको वडा सबै क्षेत्र नं १ मा पर्दछन् । १३ नम्बर वडामा एमालेले, २ र ८ वडामा माओवादीले जितेको छ भने बाँकी वडा काँग्रेसले वडाध्यक्ष जितेको छ ।
गोदावरीका १२ वडाका वडाध्यक्ष र तीन गाउँपाकिलाका प्रमुखको मतलाई आधार मानेर गणना गर्दा ललितपुर क्षेत्र नं १ मा स्थानीय चुनावमा एमालेको २० हजार ६७० मत देखिन्छ । काँग्रेसको २२ हजार ३०३, माओवादीको ५ हजार ८१६, राप्रपाको १ हजार ७४१ र नेकपा एसको ९ मत मात्र छ । गठबन्धनको कुल मत एमालेको भन्दा साँढे ३ हजारले बढी छ ।
एमाले विभाजनको असर ललितपुर १ मा देखिएको छ । यसकारण पनि काँग्रेस उत्साही छ । तर, केशरबहादुर बिष्टको प्रभाव क्षेत्र मानिन्छ ललितपुर १ । उनको भूमिकाले चुनावमा धेरै असर गर्न सक्छ ।