काठमाडौं, भदौ ७ । एउटा प्रयोजनका लागि स्वीकृति लिएर अर्कै प्रयोजन भइरहेको घर तथा पसलमाथि काठमाडौं महानगरपालिकाले कारबाही थालेको छ ।
‘अन्डर ग्राउन्ड पार्किङ’का लागि स्वीकृति लिइएको क्षेत्रमा ‘पसल व्यवसाय सञ्चालन भइरहेको’ पाइएपछि भत्काउन थालिएको छ । महानगरपालिकाले काठमाडौंका सबै ठाउँमा क्रमशः अनुगमन गरी कारबाही तयारीसमेत थालेको छ ।
महानगर प्रमुख बालेन्द्र साह नेतृत्वमा सोमबार नयाँ बानेश्वर क्षेत्रमा अनधिकृत रूपमा सञ्चालित घरमा ‘कंक्रिट एक्ट्राक्टर’ मेसिन चलाइएको हो ।
काठमाडौं उपत्यकामा अधिकांश ठाउँमा ‘पार्किङका लागि’ भनेर नक्सा पास गरेर सटर भाडामा दिई व्यवसाय गर्ने गरेको पाइएको छ । महानगरपालिकाको यस्तो निर्णयप्रति घरधनीको विरोध रहे पनि सर्वसाधारणले भने स्वागत गरेका छन् ।
फुटपाथ नै छेक्नेगरी सञ्चालन भइरहेका व्यापार–व्यवसाय हटाउनसमेत सर्वसाधारणले माग गरेका छन् । काठमाडौंका धेरैजसो फुटपाथ क्षेत्र व्यापारीले कब्जा गर्ने गरेको पाइएको छ । हिँडडुल नै गर्न नमिल्नेगरी पसल तथा व्यवसायका सामग्री राख्ने गरिएको छ ।
कतिपय फुटपाथ क्षेत्र पसल व्यवसायी र कतिपयमा पार्किङस्थल बनाइएका छन् । महानगरपालिकाभित्रका फुटपाथमा व्यवसायीले मोटरसाइकल पार्किङ गरेर पैदलयात्रुका लागि हिँडडुल गर्न असहज पैदा गर्ने गरेकोसमेत पाइएको छ ।a
फुटपाथ नै ढाक्नेगरी, ग्यारेज, पसल व्यवसायका सामग्री राख्ने तथा मोटरसाइकल पार्किङस्थल बनाउँदासमेत महानगरपालिकाको ध्यान पुग्न सकेको छैन ।