Logo

माओवादी केन्द्रका अन्तर्घातीलाई कारबाही गर्न सिफारिस



काठमाडौं, भदौ ७। स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र अन्तर्घात र अनुशासन उल्लङ्घन गर्नेलाई निलम्बन र निष्कासन गर्न सिफारिस गरिएको छ । पार्टीले गठन गरेको छानबिन समितिले अन्तर्घात गर्नेलाई निष्कासन गर्नुपर्ने सिफारिस गरेको हो ।

पार्टी कार्यालय पेरिसडाँडामा सोमबार छानबिन समितिको प्रतिवेदन बुझ्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्घात र अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “राम्रो काम गर्नेलाई प्रोत्साहित र नराम्रो काम गर्नेलाई दण्डित नगर्ने हो भने पार्टी कम्युनिस्ट पार्टीजस्तो रहँदैन । आवश्यक कारबाही अगाडि बढाइनेछ ।”

उनले पार्टीलाई अनुशासन र विधिका आधारमा सञ्चालन गर्न समिति गठन गरेर अन्तर्घातको छानबिन गरिएको बताउँदै पार्टीभित्र अनुशासन तोड्ने र अराजकतातिर जानेलाई दण्डित गर्ने प्रक्रिया अगाडि बढाएमा मात्र माओवादी केन्द्र कम्युनिस्ट पार्टी रहने तर्क गरे ।

प्रतिवेदनले पार्टीलाई विधि र अनुशासित राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै पार्टी अध्यक्ष प्रचण्डले भने, “प्रतिवेदन पार्टी निर्माण प्रक्रियालाई व्यवस्थित पार्नेसँग सम्बन्धित छ । दोषीलाई कारबाही गर्ने प्रक्रिया अगाडि नबढाईकन पार्टी निर्माण, कम्युनिस्ट आन्दोलनको पुनर्गठन र समाजवादतिरको यात्रा सम्भव छैन ।” समग्रमा सैद्धान्तिक रूपले विचार गरेरै छानबिन समिति बनाएको उनको दाबी छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot