Logo

मुख्यमन्त्री राउतको राजीनामा ढिलो भैसक्योः महिन्द्र राय यादव



काठमाडौं, ७ भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजीनामा आवश्यक रहेको औंल्याएका छन् ।
“राजनीतिमा इमानदारी, नैतिकता जरुरी हुन्छ । बेटी बचाओ, बेटी पढाओ कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भ्रष्टाचार देखेपछि मुख्यमन्त्री लालबाबु राउतले आफैं बुझेर उहिल्यै स्वतः राजीनामा गर्नुपर्थ्यो । अब त ढिलो भैसक्यो । उपेन्द्रजीले राजीनामा माग्नुभयो कि भएन, त्यो आफ्नो ठाउँमा छ । राजीनामा भन्ने कुरा होइन, गर्ने कुरा हो । त्यसबारे मधेसका जनतालाई थाहा छ । निर्वाचनमा जनताले मतबाट फैसला गर्छन्,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने ।
नेकपा एमालेले नागरिकतामा राजनीति गरेको आरोप पनि उनले लगाए । उनले भने, “नागरिकता पाउनु नागरिकको नैसर्गिक अधिकार हो । तर नागरिकतामा एमालेले राजनीति गर्‍यो । आफू पनि नगर्ने, अरुले गरेको देख्न नसक्ने । एमाले जनताप्रति जिम्मेवार भएन । एमालेको दोहोरो व्यवहार देखायो ।” उनले संसद्बाट पारित भएपछि नागरिकता विधेयकमा राष्ट्रपतिले लालमोहर लगाउनैपर्ने पनि औंल्याए ।
नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा बन्ने वाम गठबन्धन नेपाली कांग्रेस वा शेरबहादुर देउवाविरुद्ध नभएको पनि उनको भनाइ छ । उनले भने, “यो गठबन्धन राजनीतिक निकासका लागि भएकाले लामो समय जान्छ । हामीले त जसपा, लोसपा सबैलाई एकै ठाउँ ल्याएर वाम प्रजातान्त्रिक गठबन्धन गर्ने, पाँच वर्षसम्म राजनीतिक स्थिरता र सुशासन दिने हो ।” उनले नेसपा माओवादी केन्द्रमा विलय नभएको पनि बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot