काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले संघीय संसदका लागि आफ्नो पार्टीलाई कम्तीमा ६० प्रतिशत सिट आवश्यक रहेको बताएका छन् ।
“गठबन्धन दलहरुले धेरै सिट दाबी गर्न सक्छन् । तर सबैजसो दलको जित्ने मुख्य आधार नेपाली कांग्रेस नै हो । कांग्रेसमा धेरै आकांक्षी छन् । आफ्नै पार्टीभित्र समायोजन गर्नु परेन ? अहिलेको जनमत हेर्दा ६०–४० को भागबन्डा नै उचित हो । ९३ सिटभन्दा घटीमा कुरा मिल्दैन,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने ।
गोरखामा कम्तीमा एउटा संघीय निर्वाचन क्षेत्र कांग्रेसलाई नदिए जनताले विद्रोह गर्ने दाबी पनि श्रेष्ठको छ । उनले थपे, “गोरखामा पछिल्लो स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको भन्दा बढी भोट कांग्रेसले पाएको छ । बाबुराम भट्टराईको पार्टीले जम्मा दुइटा वडा जितेको छ । कांग्रेसलाई माइनस गर्ने हो जनताले माओवादीलाई भोट हाल्दैनन् । हामीले भने पनि मान्दैनन् ।”
तपाईंले विद्रोह गर्नुहुन्छ त भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “यो मेरो सवाल होइन, कांग्रेसको सवाल हो । बराबरी भएन भने जनताले मान्दैनन् । मलाई पार्टीले टिकट नदेला । म विद्रोहमा नगरुँला । म पार्टीको लाइन विपरीत गएको पनि छैन । तर कार्यकर्ताले विद्रोह गरे छेक्न सक्दैनौं । कांग्रेसलाई चिढ्याएर माओवादीले जित्दैन । तसर्थ नेताहरुले विवेकपूर्ण निर्णय गर्लान् भन्ने लाग्छ । गडबड गरे गठबन्धन बिग्रन्छ ।”
पार्टीमा गुटभन्दा पनि उचित व्यक्तिले टिकट पाउनुपर्ने उनले बताए । श्रेष्ठले भने, “शेखर कोइरालाले भागबन्डाको राजनीतिले बिगार्यो भनेको ठीकै हो । भागबन्डामा उपयुक्त व्यक्ति चयन हुँदैनन् । सबैलाई मिलाएर लाने जिम्मेवारी पार्टी सभापतिको हो ।”