Logo

राष्ट्रपतिसँग नागरिकता विधेयकमा छाप नलगाई राजीनामा गर्ने विकल्प छः शेरबहादुर तामाङ



काठमाडौं, ७ भदौ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग असल र सचेत नागरिकका हिसाबले राजीनामा दिन सक्ने विकल्प भएको बताएका छन् ।
“राष्ट्रपति भनेको संविधानको संरक्षक संस्था हो । नागरिकता विधेयक फेरि संसदबाट पारित भएर गइसकेपछि संस्थाका हिसाबले छाप लगाउनुपर्छ । राष्ट्रको पक्षमा उभिएर असल र सचेत नागरिकका हिसाबले सोच्ने हो भने राजीनामाको विकल्प पनि उहाँसँग छ । तर उहाँले लालमोहर लगाउनुभन्दा राजीनामा गर्छु भन्नुभएको छैन । सबै अनुमानका कुरा हुन्,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भने ।
राष्ट्रपतिले दिएका सुझावलाई अवज्ञा गरी जबर्जस्ती विधेयक पास गर्नु गैरजिम्मेवारी भएको उनको आरोप छ । तामाङले थपे, “कुनै समुदायलाई खुसी पारेर भोट बटुल्न गठबन्धनले राष्ट्रपतिले दिएका सुझावलाई अवज्ञा गरी गैरजिम्मेवारी देखायो । नागरिकता जस्तो संवेदनशील विषयमा सर्वदलीय बैठकसमेत डाकिएन । संवेदनशील विषयमा सरोकार व्यक्त गर्दै राष्ट्रपतिले दिएका सुझावलाई नजरअन्दाज गरियो । यसले बिस्तारै वंशजभन्दा अंगीकृत नागरिक बढी हुने हुन् कि भन्ने हामीलाई लागिरहेको छ ।”
नेपालबाट सामान नजाने हो भने चिनियाँ नाका खोल्नुको कुनै अर्थ नभएको पनि उनले बताए । एमाले नेता तामाङले भने, “खासा नाकाबाट अत्यावश्यक सामान थोक व्यापारीले ल्याइरहेका छन् । तर यताबाट सामान पठाउन सकिएको छैन । नाका खुलेका बेला सिन्धुपाल्चोकका जनताले एक भारी सामान ल्याएर जिविकोपार्जन गर्थे । भूकम्पपछि त्यो अवस्था छैन । उताको सामानका लागि अर्बौंको पैसा पठाउने अनि यताको सामान केही पनि नजाने हो भने नाका खोलेर नेपाललाई के हुन्छ ?”



प्रतिक्रिया दिनुहोस्