Logo

यसकारण प्रदेश सभा सदस्यमा दीपक भट्टराईको उम्मेदवारी



काठमाडौं, भदौ ७ । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री तथा युवा नेता दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा जुटेका छन् । पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं १ को प्रदेश सभा सदस्यमा उम्मेदवार हुने तयारीमा जुटेका हुन् ।

आफ्नै कला, मेहनत र परिश्रमले राजनीतिक छलाङ मारेको व्यक्ति हुन् नेता भट्टराई । जुझारु नेता भट्टराई नेविसङघको महामन्त्री, महाधिवेशन प्रतिनिधिको हैंसियतमा लगनशिलता कार्यकुशलता, निष्ठा, इमान्दार र कतव्र्यनिष्ठ भई गरेकाले नै राजनीतिमा छलाङ मार्न सहज भएको छ । यसै पृष्ठभूमिका कारण प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट सबैभन्दा लोकप्रिय नेताका रुपमा भट्टराईलाई हेरिएको छ र जिल्लामा सबैले उनको उम्मेदवारीलाई स्वभाविक रुपमा समेत लिएका छन् ।

युवाको भविष्यको लागि, मुलुकको समृद्धि, तनहुँको परिवर्तन र प्रगतिको लागि आफनो उम्मेदवारी भएको नेता भट्टराई बताउँछन् । देशको नेतृत्व तनहुँले गर्नुपर्ने र तनहुँको नेता हाम्रो भिरपाखाको मात्रै हैन देशकै नेता बन्नुपर्ने भट्टराई बताउनुहुन्छ । ‘हामी हाम्रो भुगोलसँगै समग्र देशको विकास गछौं’ भट्टराईले बताए । युवाको सोचले नै मुलुकको समृद्धिको आधार भएकोले राजनीतिक दल युवाको मनमुटुमा बस्न सक्नुपर्ने भट्टराई बताउँछन । ‘अबको नेपाल कस्तो बनाउनु पर्छ भन्ने सुरुवात तनहुँबाट गर्नुपर्छ त्यसको लागि मेरो उम्मेदवारी दाबी हो’ नेता भट्टराईले बताए। हिजो गुजरातमा गरेको विकासका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय भएझैं तनहुँमा नमुना काम गरेर देशकै नेता हुन सक्नुपर्ने भट्टराई बताउँछन् । ‘२१ औं शताब्दी नेपाल कस्तो हुनुपर्छ भन्ने सुरुवात आफैबाट गर्न चाहन्छु ।’ भट्टराईले भने, ‘युवासँग क्षमता र सामर्थ छ तर सोच नभएकोले पछि परेका छौं’ । अब केवल आफ्नो बारेमा सोच्ने नेता हैन, आफू धनी हुने नेता हैन नेपाललाई धनी बनाउने नीति चाहिएको भट्टराईको भनाइ छ ।

राजनीतिक पार्टीसँग जनता खुसी नभएको अवस्थामा जनताको मुहारमा खुसी ल्याउने काममा आफूहरु क्रियाशील हुने प्रतिवद्धता जाहेर गरे । ‘अहिले हामी गरिव राष्ट्रमा छौं, विगतमा हामी धनी र आत्मनिर्भर थियौ ।‘ भट्टराई भने, ‘हामी जन्मिदै गरिब थिएनौं, विस्तारै विस्तारै गरिब भएका हौं यसको प्रमुख कारण हाम्रा नेतालाई आज सम्म पनि देश कसरी धनी हुन्छ भन्ने नीति थाहा नभएकोेले गरीव भएका हौं’ । जल, जमिन, जडिबुटी के बाट आम्दानी गर्ने हो त्यसप्रति ध्यान दिनुपर्ने उनले जोड दिए । सुरुमा हामी अव कृषिमा आत्मनिर्भर बन्नुपर्छ विस्तारै राजनीतिमा पनि आत्मनिर्भर बन्दै जानुपर्ने भट्टराईले बताए ।

२०५२ सालको शिक्षा सेवा आयोगमा निमावि तहको नाम निकालेर पनि अन्तरवार्ता नदिइ राजनीतिमा होमिएका हुन् युवा नेता भट्टराई । राजनीतिको माध्यमबाट देश परिवर्तन गर्न लागेको उहाँ बताउनुहुन्छ । तेज दिमागका नेता भट्टराई हाल त्रिभुवन विश्वविद्यालयबाट द्धन्द्ध व्यवस्थापन विषयमा विद्यावारिधी (पीएचडी) गर्दै छन् । उनले समाजशास्त्रमा प्रथम श्रेष्णीमा स्नातकोत्तर गरेका छन् ।

को हुन् दीपक भट्टराई ?
तनहुँको व्यास नगरपालिका– ११ रामथुम्कीमा बुबा श्रीराम भट्टराई र आमा स्व.धर्मकला भट्टराईको कोखबाट जन्मिएका भट्टराईको विद्यालय जीवनदेखि नेविसंघमा आवद्ध भई सक्रिय राजनीतिमा होमिएका थिए । उनी मात्रै होइन भट्टराई परिवारको तीन पुस्ता नै तनहुँको राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील छ । हजुरबुबा बलराम भट्टराई शास्त्री तनहुँ जिल्लामै शास्त्री (स्नातक) गर्ने पहिलो व्यक्ति थिए । जिल्लामा शास्त्री गर्ने पहिलो व्यक्ति भएकोले नै उनले नामको पछाडि भट्टराई शास्त्री लेख्थे । उनी २०२५ सालमा खुलेको दमौलीस्थित निर्मल माध्यमिक विद्यालयको संस्थापक प्रधानाध्यापक भएका थिए । मावि तहको प्र.अ हुन स्नातक गरेको हुनुपर्ने तर अन्य व्यक्तिको यस्तो योग्यता नपुगेपछि बलराम भट्टराई शास्त्रीलाई नै प्रअ बनाएर विद्यालय सञ्चालन गरिएको थियो ।

व्यास नगरपालिका–११ फराकचौरमा वाराही माध्यामिक विद्यालय स्थापनामा समेत शास्त्रीको ठुलो योगदान थियो । शास्त्री तत्कालीन फराकचौर (दमौली) पञ्चायतको दुई पटक प्रधानपञ्च बनेका थिए । सरकारी सेवामा निर्वाचन आयुक्तको जिम्मेवारीबाट राजिनामा दिएर शास्त्री समाजसेवा प्रवेश गरेका थिए । उनकै कार्यकालमा दमौलीको बजारको नमुना डिजाइन र प्लानिङ गरिएको थियो । भट्टराईको बुबा श्रीराम भट्टराईको राजनीतिमा ठुलो योगदान छ । बीपी कोइरालाको प्रेरणाले राजनीतिमा लाग्नु भएका उनी राजद्रोह मुद्धामा २०२९ साल माघ २२ गतेबाट ठीक दुुई वर्ष कास्की कारागारमा बसेका थिए । बरिष्ठ पत्रकार कृष्ण केसी, तनहुँका बद्रीहरि भट्टराई पनि पोखरामा सँगै परेका थिए । त्यसअघि उनी एक वर्ष भूमिगत जीवन बिताएका छन् । बुबा श्रीराम भट्टराई नेपाल तरुण दलको जिल्ला सदस्य समेत बनेका थिए । उनीँ निर्मल माध्यमिक विद्यालयमा लामो समयसम्म शिक्षण समेत गरे ।

काँग्रेसमा पारिवारिक योगदान रहेका गर्भे काँग्रेस युवा नेता भट्टराई २०६२/०६३ को लोकतान्त्रिक आन्दोलनदेखि विभिन्न विद्यार्थी आन्दोलनमा दजनौं पटक लाठा, भाटा खाने र शरिरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । काँग्रेसको १४ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यको प्रत्यासी थिए । कुनै पनि प्यानलमा नपरे पनि भट्टराईले सम्मानजनक मत प्राप्त गरेका थिए । भट्टराईले त्रिचन्द्र क्याम्पसमा इकाई सदस्य बनेर आफ्नो राजनीतिक कर्मलाई अगाडी बढाएका थिए । २०५५ सालमा गगन थापा सभापति हुँदा सो क्याम्पसमा युनियन सहसचिव हुनु भएको थियो । त्रि–चन्द्र क्याम्पसमा नेविसंघले अन्याय गरी टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र भई लडेर २०६२ सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि २०५७ र २०६० नेविसङ्घको केन्द्रीय सदस्य भए । युवा नेता भट्टराई काँग्रेसको १३औं र १४औं महाधिवेशनमा तनहुँबाट भारी मतमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।

त्रिचन्द्र कलेजको सुधारदेखि, त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थी हकहितको पक्षमा उहाँले धेरै नीतिगत लडाईहरु लडेका छन् । हिजो व्यवस्था परिवर्तनको लगि लडें अब अवस्था परिवर्तनको लागि लडेको छु’ भट्टराईले भने । शिक्षा परिवर्तनको आधार हो, समृद्धिको आधार हो, शिक्षा नै विकासको मेरुदण्ड भएको भट्टराईले बताए । युवा शक्ति केवल भविष्यका कर्णद्धार मात्रै हैन वर्तमानका साझेदार पनि हुन् तसर्थ पार्टीले उम्मेदवार बनाउँछ भन्नेमा उनी ढुक्क छन् ।



प्रतिक्रिया दिनुहोस्