Logo

ललितपुर-२ मा यस्तो छ चुनावी अंकगणित



काठमाडौं, ७ भाद्र । ललितपुर क्षेत्र नम्बर २ लाई कम्युनिस्ट पार्टीहरुको बलियो प्रभाव क्षेत्र मानिन्छ । यो क्षेत्रमा बहुदल पछि भएका ६ वटा संसदको चुनावमा ५ पटक कम्युनिस्ट पार्टीले जिते । एक पटक मात्र काँग्रेसले जितेको इतिहास छ ।

ललितपुर क्षेत्र नम्बर २ मा बहालवाला सांसद कृष्णलाल महर्जन छन् । उनी २०७४ मा एमालेबाट विजयी भएका थिए । कृष्णलालले २७ हजार ७१३ मत ल्याउँदा काँग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत ल्याएका थिए । २०७० को चुनाव भने चन्द्र महर्जनले जितेका थिए ।

ललितपुर २ मा महालक्ष्मी नगरपालिकाका सबै वडा पर्दछन् । ललितपुर महानगरपालिकाको ६, ७, ८, ९, ११, १२, १६, १७ र १९ पर्दछन् ।
२०७९ को स्थानीय चुनावमा ललितपुरमा काँग्रेस र माओवादी केन्द्रको मात्र गठबन्धन भयो । महालक्ष्मी नगरपालिकामा माओवादीका मेयरका उम्मेदवार एमालेका उम्मेदवारसँग पराजित भए । ललितपुर महानगरपालिकामा भने काँग्रेसले जित्यो ।

महालक्ष्मीमा एमालेका मेयर ९ हजार ३५० मत प्राप्त गरे । माओवादीका मेयरले ५ हजार ६५८ मत पाए । नेकपा एसले ३ हजार ८९१ मत ल्याए । राप्रपाका मेयरका उम्मेदवारले २ हजार ५९३ मत ल्याए ।

ललितपुर २ मा एमालेको मत महालक्ष्मीको मेयर र ललितपुर महानगरपालिकाका ९ वटा वडाका वडाध्यक्षको मत जोड्दा १९ हजार ४४४ देखिन्छ । काँग्रेसको १२ हजार ३८७, माओवादीको ७ हजार २०२, नेकपा एसको ५ हजार ३५३ र राप्रपाको ४ हजार ५ मत छ । यसलाई आधार मान्दा काँग्रेससहितको गठबन्धन एमालेभन्दा ५ हजार भन्दा बढी मतले अगाडि देखिन्छ ।

ललितपुर २ का बहालवाला सांसद कृष्णलाल महर्जन नेकपा एसमा छन् । त्यहाँ एसको उम्मेदवार गठबन्धनबाट बढ्ने चर्चा छ । प्रदेश सांसद माधव पौडेलको पनि चर्चा छ । नेकपा एमालेबाट हरिकृष्ण व्यञ्जनकार देखि ज्ञानेन्द्र शाक्यको चर्चा छ । डा. दीपेश केसीले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । चुनावी अंकगणित हेर्दा गठबन्धन बलियो छ । एमाले उम्मेदवार कस्लाई बनाउने भन्ने गृहकार्यमा छ । स्वतन्त्रका केसी सक्रिय भइसकेका छन् । ललितपुर २ मा उनको चर्चा चलिरहेको छ ।

यसपटक ललितपुर २ मा लामो समययताका दोहोरिएका उम्मेदवार भन्दा नयाँप्रति जनताको चासो बढ्न थालेको छ । यसकारण त्यहाँ बहुपक्षीय चुनावी भिडन्त हुने आँकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्