Logo

एउटा चुनाव जित्नका लागि एमालेले राष्ट्रहित विपरीतका काम गर्दैनः पद्मा अर्याल



काठमाडौं, ८ भदौ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले निर्वाचनमै नगईकन मधेस प्रदेशमा पार्टी कमजोर भयो भन्ने निष्कर्ष पुग्न नमिल्ने बताएकी छन् । नागरिकता विधेयकमा सत्तागठबन्धन गैरजिम्मेवार रुपमा प्रस्तुत भएको उनको तर्क छ ।
“नागरिकता विधेयकले एमालले स्पष्ट अडान राखेको छ । जो नेपालमा जन्मे र यतै बस्छन्, उनीहरुलाई यथाशीघ्र नागरिकता दिनुपर्छ भन्नेमा एमालेको विमति होइन । तर वैवाहिक नागरिकतासम्बन्धमा ‘लुप होल’ राख्दा भोलि राष्ट्रियता संकटमा पर्छ र हामी नै अल्पमतमा पर्ने कुरा आउँछ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अर्यालले भनिन् ।
एमाले नेतृ अर्यालले आफ्नो पार्टीलाई घेराबन्दी गरिएको पनि आरोप लगाइन् । उनले थपिन्, “एमालेविरुद्धको घेराबन्दी नागरिकता विधेयकपछि मात्र होइन, हिजैदेखि योजना हो । त्यसकारण एमाले आफ्नो पोजिसन हेरेर गैरजिम्मेवार हुने पार्टी होइन । हामी एक चुनाव जित्नका लागि राष्ट्रिय हित विपरीत सहीछाप गर्दैनौं । हामी सिटमा सानो भएर के हुन्छ र ?”
आगामी निर्वाचनमा पार्टीले घोषित गठबन्धन नगर्ने पनि उनको दाबी छ । अर्यालले भनिन्, “हामीले कसैसँग बोल्दै बोल्दैनौं, भेट्दै भेट्दैनौं भनेका छैनौं । तर हामी घोषित गठबन्धन गर्दैनौं । अभिशापपूर्ण गठबन्धन गरेर मुलुकलाई फाइदा छैन । हामीले निरन्तर जनता र राष्ट्रको पक्षमा बोलेका छौं । त्यसबाटै जनताले बहुमत दिलाउँछन् ।” अर्को प्रसंगमा उनले चीनतर्फको नाका खोल्ने काम प्रतिपक्षको नभई सरकारको भएकाले द्विपक्षीय वार्ता गरेर अघि बढ्नुपर्ने औंल्याइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot