Logo

गठबन्धनमा उम्मेदवारी नमिलाए उल्टो एमालेलाई फाइदा हुन्छः कांग्रेस प्रवक्ता



काठमाडौं, ८ भदौ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले १० दिनभित्र गठबन्धनभित्र सिट बाँडफाँट टुंगो लाग्ने बताएका छन् ।
“सिट बाँडफाँट पक्कै पनि जटिल र कठिन छ । हामी भरखर गम्भीर छलफलमा प्रवेश गरेका छौं । म ठ्याक्कै दिन तोक्न सक्दिनँ । तर हप्ता १० भित्र सिटको टुंगो लाग्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. महतले भने ।
माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेसलाई ८० सिट दिने प्रस्ताव नगरेको पनि उनले बताए । डा. महतले भने, “कसैले प्रस्ताव गर्न सक्छ । तर त्यसमा सबैको सहमति हुनुपर्यो नि । सिट बाँडफाँट गर्दाखेरि आम मतदाताले स्वाभाविक मानेको स्थितिमा मात्र परिणाम गठबन्धनको पक्षमा आउँछ । उम्मेदवारी दिनुमात्र महत्त्वपूर्ण कुरा होइन, परिणाम आउनु ठूलो कुरा हो । हामीले उम्मेदवारी मिलाएनौं भने उल्टो एमालेलाई फाइदा हुन्छ । यसबारे कार्यदलमा बसेका साथीहरुले गम्भीरतापूर्वक लिनुहुनेछ ।”
सबै दल एक्लाएक्लै जाने स्थितिमा कांग्रेस एक्लै जान सक्षम रहेको दाबी पनि डा. महतले गरे । उनले थपे, “सबै दलले एक्लाएक्लै लड्ने मनसाय राखेको भए नेपाली कांग्रेसलाई केही समस्या थिएन । तर अहिले हामीले गठबन्धन नगरे पनि एमालेले गर्छ । सबै दल एकातिर कांग्रेस एकातिर हुँदा हाम्रो मत बढी नहुन सक्छ । तर एक्लाएक्लै लड्दा सबैभन्दा फराकिलो जनाधार भएको दल नेपाली कांग्रेस नै हो ।” उनले ५ दलबीचमै बाँडफाँटको समस्या भएका बेला तत्काल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा लैजाने वा गठबन्धनमा सामेल गर्न कठिनाइ हुने पनि औंल्याए ।
पार्टीले निर्वाचनमा बहुमत ल्याउने लक्ष्यका साथ ७७ जिल्लामा प्रतिनिधि खटाएको पनि कांग्रेस प्रवक्ता डा. महतले बताए । उनले भने, “गठबन्धनका कारण हाम्रो उम्मेदवारी संघमा नभए पनि प्रदेशमा हुन्छ, प्रदेशमा नहुँदा संघमा हुन्छ । समानुपातिक सूचीमा हुन्छ । त्यसैले पार्टीले बहुमत प्राप्त गर्ने उद्देश्य र कार्यकर्ता र जनतालाई बुझाउनका लागि प्रतिनिधि पठाएका हौं ।”



प्रतिक्रिया दिनुहोस्