काठमाडौं, भदौ ८ । नेपाली कांग्रेसले भदौ १० गतेदेखि शुरू हुने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू खटाएको छ । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदै छ ।
प्रवक्ता प्रकाशशरण महतले कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा अभियान सञ्चालन गर्न लागेको बताएका छन् । उनका अनुसार अभियान तीन चरणमा सञ्चालन हुनेछ ।पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डागत प्रचारप्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ
कांग्रेसले केन्द्रीय प्रतिनिधिहरूलाई अभियान शुरू हुनुभन्दा दुई दिनअगावै सम्बन्धित जिल्ला पुगेर अभियानलाई सफल बनाउन निर्देशन गरेको छ । केन्द्रीय प्रतिनिधिहरू सम्बन्धित जिल्लामा कम्तीमा पाँच दिनसम्म कार्यक्रमहरूमा सहभागी हुनुपर्नेछ ।
प्रवक्ता महतले सम्बन्धित जिल्लामा रहेका सबै निर्वाचन क्षेत्रमा पुगेर त्यहाँ पार्टीको संगठन र वस्तुस्थितिको यथार्थ बुझेर आउन केन्द्रीय प्रतिनिधिहरू परिचालित गरिएको बताउनुभयो । कांग्रेसले सम्बन्धित जिल्लामा गठबन्धन दलहरूबीच समन्वय र सहकार्यको स्थिति कस्तो छ भन्ने मूल्यांकन गरी थप सहजीकरण गर्नसमेत निर्देशन गरेको छ । नेपाल समाचारपत्र दैनिकबाट