Logo

बाँकेमा चुनावी चहलपहल सुरू



काठमाडौँ,८ भदौ । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर बाँकेमा चुनावी चहलपहल सुरू भएको छ । राजनीतिक दलहरुले चुनाव केन्द्रित गतिविधि सञ्चालन गर्न थालेका छन् भने स्वतन्त्र उम्मेदवारको घोषणा गर्ने क्रम पनि बढ्दै गएको छ ।

तीन सङ्घीय र छ प्रदेश निर्वाचन क्षेत्र रहेको बाँकेमा निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न दलहरुले चुनाव केन्द्रित अभियानसहित सक्रियता देखाउन थालेका छन् । निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले)ले एक महिने अभियानअन्तर्गत वडादेखि जिल्लास्तरका भेला तथा प्रशिक्षण कार्यक्रम सकेर निर्वाचन क्षेत्रस्तरीय भेला बैठक गरिरहेको पार्टी अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।

उनका अनुसार पार्टी अभियान र निर्वाचन लक्षित योजनासहित पार्टीका सबै तहलाई क्रियाशील बनाउन निर्देशन गरिएको छ । जनता समाजवादी पार्टीले निर्वाचन केन्द्रित अभियानलाई तीव्रता दिएको छ ।

उक्त पार्टीका केन्द्रीय सचिव एवं भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राईको उपस्थितिमै एकचरणको निर्वाचन केन्द्रित कार्यक्रम गरिएको जिल्ला सचिव राजेन्द्र विश्वकर्माले बताए । आसन्न निर्वाचनलाई मध्यनजर गरेर नेपाली कांग्रेसले आन्तरिक तयारी गरिरहेको जिल्ला सभापति नारायण गौडेलले बताए । उनले अन्य दलसँग गठबन्धन भए पनि नभए पनि कांग्रेसले निर्वाचन केन्द्रित आफ्नो आन्तरिक तयारी गरेको उल्लेख गरे ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा उम्मेदवारी घोषणा गरेका स्वतन्त्र उम्मेदवारले पनि आफ्नो चुनावी अभियान सुरु गरेका छन् । बाँके क्षेत्र नं २ बाट स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेका दिवाकर खनाल र प्रदेशसभामा राजकुमार रौनियारले मङ्गलबारबाट चुनावी अभियान सुरू गरेका छन् ।

समर्थकहरुको उपस्थितिमा हनुमान चालिसा पाठ गरेर विधिवत् रुपमा आफ्नो चुनावी अभियानको सुरुआत भएको स्वतन्त्र उम्मेदवार खनालले जानकारी दिए । मङ्सिर ४ गते तय भएको निर्वाचनमा बाँके निर्वाचन क्षेत्र– २ को प्रदेश ‘ख’ बाट अभियानकर्मी डा विनोद कर्णले पनि स्वतन्त्र उम्मेदवार घोषणा गरी चुनावी प्रचारप्रसारमा लागेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot