काठमाडौं, ८ भाद्र । भक्तपुर क्षेत्र नं १ यस्तो निर्वाचन क्षेत्र हो जहाँ बहुदल आएपछिको ६ वटा प्रतिनिधि सभा निर्वाचनमा नेपाल मजदूर किसान पार्टीले कहिले चुनाव हारेको छैन । नारायणमान विजुक्च्छे रोहितले ५ पटक र प्रेम सुवालले एक पटक नेमिकपाको मादल चिन्हबाट चुनाव जितिसकेका छन् ।
२०७४ को चुनावमा विजुक्च्छेले सुवालका लागि उक्त क्षेत्र छाडे । भक्तपुर १ मा पर्ने भक्तपुर नगरपालिकामा बहुदल आएपछि भएका स्थानीय चुनावमा नेमिकपाले मात्र मेयर जित्दै आएको छ ।
२०७४ को चुनावमा सुवालले ३३ हजार ७६ मत ल्याउँदा काँग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत प्राप्त गरेका थिए । माओवादीका मिलन सुवालको १५ हजार ३७४ मत देखियो ।
२०७९ को स्थानीय चुनावलाई आधार मान्दा भक्तपुरमा नेमकिपाको ३२ हजार ५१९ मत देखिन्छ । काँग्रेसको १२ हजार ९५७, एमालेको १२ हजार १, राप्रपाको ९ हजार १४८ र माओवादीको १ हजार ६२९ मत स्थानीय चुनावमा प्राप्त भएको थियो । यसलाई आधार मान्दा मुख्य दल सबै मिल्दा मात्र नेमिकिपालाई चुनौती हुनसक्छ ।
भक्तपुर १ मा नेमकिपाको लगातार जीतलाई ब्रेक लगाउन सजिलो देखिदैन । त्यहाँ नेमकिपाको जीतमा ब्रेक लगाउने तागत भएका दल या नेता विशेषबारे सधै चर्चा हुनगर्छ । तर, व्यवहारमा अहिलेसम्म सम्भव भएको छैन । यसपटकको चुनावी प्रतिष्पर्धा नेमिकिपालाई चुनौती दिने खालको हुने हो या होइन चासो बनेको छ ।