Logo

राष्ट्रपतिका राजनीतिक सल्लाहकारको आक्रोशः “मुलुक ठूलो कि गठबन्धन ? कसैको पार्टी र सत्ता जोगाउन जे पनि गर्ने ?”



काठमाडौं, ९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार डा‍. लालबाबु यादवले राष्ट्रपतिले राजीनामा दिनुपर्ने कुनै कारण ।नभएको बताएका छन् ।
“अहिले राष्ट्रपतिले राजीनामा दिने के कारण पर्यो र ? राष्ट्रपति नागरिकता विधेयकबारे संविधान र संसदको अध्ययन गरिरहनुभएको छ । जनमानस, नागरिक समाजको के कस्तो चासो छ, सुझाव लिइरहनुभएको छ । यस्तो क्रिटिकल आवरमा उहाँले राजीनामा पनि गर्नुहुन्न, संविधानबाहिर पनि जानुहुन्न । सरकार फेरिन सक्छ, संविधान फेरिन्न । लोकतन्त्र बचाउने कि गठबन्धन बचाउने ? यहाँ त एकीकृत समाजवादीको अस्तित्व रक्षा र माओवादी केन्द्रको सत्ता जोागाउन जे पनि गर्न तयार छन्,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सल्लाहकार डा‍. यादवले भने ।
उनले संविधान संशोधन गर्न संसद्लाई चुनौती दिए । डा‍. यादवले थपे, “संविधानमा एउटा कुरा लेखिएको छ, संसद्ले अर्को काम गर्‍यो । नागरिकता विधेयक राष्ट्रपतिले १५ बुँदे सुझावसहित फिर्ता पठाएपछि संसदले हुबहु पारित गर्ने चलन कतै पनि छैन । संसद्ले कि संवैधानिक सर्वोच्चता मान्नुपर्‍यो कि संविधान संशोधन गर्नुपर्‍यो ।”
उनले संसदले पारित गरेको विधेयक संविधानसँग बाझिएको दाबी पनि गरे । डा‍. यादवले भने, “राष्ट्रपतिका लागि सरकारभन्दा संविधान ठूलो कुरा हो । संविधानको भाग २ को धारा १० (२) र धारा ३८ बमोजिम नागरिकता विधेयक मिलेको छैन । राज्यव्यवस्था समितिका सदस्यले आएर गुनासो गरेका छन् । समितिमा देव गुरुङले १५ वर्ष राखेको होइन ? मुलुक ठूलो कि गठबन्धन ठूलो ? सरकारमा बस्न जे पनि गरिदिने ?”
तपाईं तराई-मधेसको भएर पनि किन नागरिकता विधेयकको विरोधमा भन्ने पत्रकार धमलाको प्रश्नमा डा‍. यादवले भने, “मधेस नेपालको भूभाग हो । म नेपाली मधेसी हुँ । नागरिकता विधेयक तराई-मधेसका लागि मात्र हो भने हौवा पिटाइएको छ । त्यहाँ नागरिकता नपाउने ३५ देखि ४० हजार मात्र छन् । एमाले मधेसविरोधी हो कि एमालेले नै जानोस् ।” नेपाली जनताले नै प्रमाणीकरण गर्नुहुन्न भनिरहेका बेला पूर्वसैनिक अधिकारीहरुले त्यसको समर्थन गर्नु स्वाभाविक भएको पनि उनले औंल्याए ।

 



प्रतिक्रिया दिनुहोस्