काठमाडौं, ९ भदौ । नेपाली कांग्रेसका सांसद रामबहादुर विष्टले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाभियोग प्रस्ताव कार्यतालिका अनुसार नै टुंगो लगाउने बताएका छन् ।
“महाभियोग सुझाव समितिले राणालाई भदौ १५ मा बोलाएको छ । उहाँ निर्दोष कि दोषी हो भन्ने थाहा पाउन जान्ने, बुझ्ने र बयान लिने काम हुन्छ । आज सार्वजनिक सूचना निकाल्छौं । कानुनी क्षेत्रका विज्ञहरुलाई पनि बोलाउँछौं । भदौ २२, २३ गतेभित्र सबै प्रमाण जुटाएर प्रतिवेदन दिन्छौं । हामीले जे पाए त्यही गर्ने होइन, कानुनसम्मत काम गर्ने हो,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद विष्टले भने ।
महाभियोगलाई टुंगोमा पुर्याउन एमालेका सांसदहरुको पनि साथ रहने विश्वास उनले व्यक्त गरे । विष्टले भने, “राणालाई बयानका लागि बोलाउने कुरामा समितिका सबै साथीहरुको एकमत छ । एमालेका साथीहरु समितिमा बसिक्नुभयो, कार्यतालिकामा पनि सहमति भैसक्यो । अब एक महिनाभित्र टुंग्याउने भनेका छौं । उहाँहरु जिम्मेवार नेताहरु हुनुहुन्छ, पछि साथ दिनुहुन्न भनेर अहिले किन शंका गर्ने ?”
राजीनामा दिने वा नदिने राष्ट्रपतिको स्वविवेकीय अधिकार भएको टिप्पणी पनि उनले गरे । विष्टले थपे, “दुवै सदनले पूर्ण बहुमतका साथ पास गरेपछि लाहाछाप लगाउनु उहाँको कर्तव्य हो । संविधानबाट दायाँबायाँ गर्न मिल्दैन । नागरिकता नेपाली जनताका निम्ति दिने हो । राष्ट्रपतिको कार्यकाल सकिनै लागेको छ । राजीनामा दिने नदिने कुरा उहाँको स्वविवेकीय कुरा हो ।” निर्वाचनको निष्पक्षतामा शंका भए सरकारमा सामेल हुन पनि उनले एमाले नेतृत्वलाई सुझाव दिए ।