Logo

सय सिटमा लचिलो हुन्छौंः एनपी सावद



काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका नेता एनपी सावदले कुनै न कुनै दलले त्याग नगरीकन सिटमा समझदारी हुन नसक्ने बताएका छन् ।
“टिकट पाउँदैमा वान्छित नतिजा आउँछ भन्ने पनि छैन । मुख्य कुरा प्रतिद्वन्द्वीलाई हराउन सक्नुपर्छ । भोटको रुपान्तरणमा हामीले ध्यान दिन सकेमात्र वान्छित नतिजा प्राप्त हुन सक्छ । सबै दलले सिटमा समझदारी गर्नैपर्छ । सानोतिनो कुरामा त्याग नगरीकन सार्थक समाधान दिन सकिँदैन.” ” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सावदले भने ।
नेपाली कांग्रेसले सय सिटको दाबी गरे पनि त्यसमा पार्टी लचिलो रुपमा प्रस्तुत हुने पनि उनले औंल्याए । सावदले थपे, “गगन थापा पार्टीको महामन्त्री र गठबन्धनको कार्यदल सदस्य हुनुहुन्छ । त्यसैले मैले उहाँको कुराको खण्डन गर्दिनँ । सय सिटमा एकदुई सिट माथि पनि हुन सक्छ, तल पनि हुन सक्छ । हामीले उदारतापूर्वक लिनुपर्छ ।”
वस्तुगत आधारमा नगए जित सुनिश्चित नहुने पनि कांग्रेस नेता सावदले बताए । उनले भने, “२०७४ को आम निर्वाचन एउटा महत्त्वपूर्ण आधार हो । तर त्यतिबेला केही पार्टी अस्तित्वमा थिएनन् । तर गत स्थानीय तहमा सबै दल सहभागी भएका थिए । वस्तुगत आधारमा गयौं भने मात्र वान्छित नतिजा आउँछ । दाबी मात्र गर्ने हो भने त्यो नहुन सक्छ । मुख्य कुरा हामीले ७० प्रतिशत भोट ट्रान्सफर हुन सक्छ कि सक्दैन भनेर विचार गर्नुपर्छ ।”
कांग्रेसले एमालेविरुद्ध गठबन्धन नगरेको पनि उनले बताए । सावदले भने, “गठबन्धन कसैका विरुद्धमा होइन । शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने, समृद्धिका एजेन्डा अघि बढाउने र नयाँ पिँढीलाई सुरक्षित भविष्य सुम्पिने हो । दुई तिहाइ बहुमत ल्याएर संवैधानिक सुधार गरेर अघि बढाउने पनि हाम्रो सोच छ ।”
अर्को प्रसंगमा उनले संविधानबमोजिम संसद् र सरकारले गरेका कामको अनुमोदन गर्नु राष्ट्रपतिको जिम्मेवारी हुने पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्