काठमाडौं, १० साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी पुनर्गठनको औचित्य एक वर्षभित्रै पुष्टि भएको दाबी गरेका छन् ।
“संविधान, लोकतन्त्र र संघीयताको रक्षा अनि एकलौटी, व्यक्तिवाद र निरंकुशताविरुद्ध हामीले गरेको विद्रोहको एक वर्षभित्रै औचित्य पुष्टि भएको छ । ७५ प्रतिशत पालिकामा कमिटी बनाएका छौं । कमिटीमा १ लाख ३० हजार संगठित छन् । २७ प्रतिशत उम्मेदवारी खडा गर्दा ९ लाख २७ हजार मत पायौं । एक वर्षमा यतिको संगठन विस्तार कसले गर्न सक्थ्यो ? पोखरा र हेटौंडामा जितको झन्डा फहरायौं । तर यो भन्दा बढी आशा गर्नु पनि बेठिक होइन,” प्राइम एचडी टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग हिजो राति कुरा गर्दै नेता नेपालले भने ।
उनले केपी शर्मा ओलीसँग कुनै पनि गठबन्धन नहुने बताए । नेपालले भने, “उहाँ यल्तसिन र गोर्वाचोभको बाटोमा अघि बढेपछि हामीले कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी भासमा जान रोक्यौं र क्रान्तिकारी झन्डा फहरायौं । संसद् भंग नगरेको भए यस्तो अवस्था आउँथ्यो ? एमसीसी ल्याउन, एसपीपी ल्याउन कसको हात छ ? चुच्चे नक्सा लुकाएर राख्न कसको हात छ ? यसपटक केपी ओलीसँग गठबन्धनको कुनै सम्भावना छैन । जो मान्छे कुरै सुन्दैन, नाम र अनुहार मन पर्दैन, हामीलाई राष्ट्रघाती र देशदोही भन्छ, ऊसँग के सहकार्य हुन्छ ?”
ओलीलाई कम्युनिस्ट आन्दोलनले केशरजंग रायमाझीका रुपमा चित्रित गर्ने पनि उनले औंल्याए । उनले भने, “गत स्थानीय तह निर्वाचनमा एमालेको मत कति घट्यो सबैलाई थाहा छँदै छ । एउटा व्यक्तिको अहंकारका कारण साढे ३०० सय पालिकाबाट २०७ मा घट्नु गौरवको कुरा हो ? केपी ओलीले गल्ती गरेकै हो । गल्ती महसुस गरे ठीकै छ । रायमाझीलाई इतिहासले के मूल्यांकन गर्यो ? आफ्नो कुर्सी हेर्ने कि देशको हित हेर्ने ? नजाने गाउँको बाटै नसोध्नु ।”
सय सिटको दाबी गर्नु नेपाली कांग्रेसको अहंकार भएको आरोप पनि नेता नेपालले लगाए । उनले भने, “हामीले गठबन्धन गर्ने भनेको घुँडा टेक्ने भनेको होइन । विन–विन सिचुएसनमा पो गठबन्धन हुन्छ । कांग्रेसले सय सिट दाबी गरेर कसले मान्छ ? कांग्रेसले १६५ नै लिए भैहाल्यो नि । यो वर्षको चुनाव कांग्रेसले मात्र लड्ने, हामीले भोट मात्र हाल्ने ? तैपनि शेरबहादुरजी मिलाउनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ, साथीहरुको धारणा हो भनिहनुभएको छ । उहाँ लचिलो हुनुहुन्छ ।”
उनले कांग्रेसमा केपी ओलीको रोग सरेको आरोप पनि लगाए । नेता नेपालले भने, “२०७४ मा जो जसले जति सिट जितेका छौं, त्यसलाई यथावत् राखेर बाँकी सिटमा यथाचित् भागबन्डा गरौं भनेका हौं । कांग्रेस ठूलो पार्टी बनेको हाम्रै कारणले हो । अहिले कांग्रेसमा केपी ओलीको रोग सरेको छ । कांग्रेसका नेताहरु एक्लै उठेर जितून् न त । नेपाली कांग्रेसको यस्तो रवैया भयो भने गठबन्धन गर्न गाह्रो हुन्छ ।”
यसपटक आफू रौतहट वा काठमाडौंमा उठ्ने तय भइनसकेको उनले बताए । मतदातालाई नै सोधेर स्थान तय हुने नेपालको धारणा छ । उनले आगामी निर्वाचनमा को प्रधानमन्त्री हुने भनेर बोल्ने बेला नभएको पनि स्पष्ट पारे । नेपालले थपे, “पदीय भागबन्डाको अहिले कुरा भएको छैन । मलाई प्रधानमन्त्री चाहिन्छ भनेर म विज्ञापन गर्दै हिँडौं ? म त्यस्तो र्याल काड्ने मान्छे होइन । समयले माग गर्यो भने कसैले रोकेर छेकेर पार लाग्दैन ।”
चुनावपछि कम्युनिस्टहरुको सरकार बन्न सक्छ भन्ने प्रश्नमा उनले भने, “राजनीतिमा असम्भव भन्ने केही छैन ।” आगामी निर्वाचनमा पार्टीले अघिल्लो पटक मन्त्री भएका सबै नेतालाई टिकट दिने पनि उनले औंल्याए । नेता नेपालले थपे, “रामकुमारी झाँक्रीलाई तपाईं गुल्मी जानुस् मैले नै भनेको हुँ । प्रेम आले, किसान, विरोध खतिवडाले टिकट नपाए कसले पाउने ? उहाँहरुलाई उठाउनेैपर्छ, जिताउनैपर्छ ।”