Logo

मध्यपुर थिमिका ५१९ परिवारलाई स्वबासी जग्गाको धनी पुर्जा वितरण



काठमाडौं, भाद्र १० । मध्यपुर थिमि नगरपालिका वडा नं. ५ र ७ का स्थानीयहरुलाई बिहिवार स्ववासी जग्गाधनीहरुलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ ।

नापी कार्यालयले नाप जाँच गरी हाल साविक गरेर तयार गरिएको ५१९ थान जग्गाधनी पुर्जा नगरपालिकाको पहलमा नापी कार्यालयले नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा वितरण गरिएको हो । पुर्जा वितरण कार्यक्रम शुक्रवार पनि जारी रहने नगरपालिकाले जानकारी दिएको छ ।

नापी भएको एक दशक भन्दा बढी भएपनि जग्गाधनीले पुर्जा नपाउँदा अनेकौं समस्या भोग्नु परेको जनगुनासो बढेपछि नगरपालिकाको पहलमा ती पुर्जा वितरण गरिएको उपप्रमुख विजयकृष्ण श्रेष्ठले बताए । उनले अहिले वडा नंं ५ र ७ का जग्गाधनीलाई पुर्जा वितरण गरिएको र आगामी एक वर्षभित्र नगरका सबै वडाका स्वबासी जग्गाधनीलाई पुर्जा वितरण गर्ने लक्ष्य रहेको जानकारी दिए ।

नगरप्रमुख सुरेन्द्र श्रेष्ठले सम्पत्ति भए पनि कागजी प्रमाण नहुँदा सुकुम्बासी जस्तै भइरहेका जग्गाधनीहरुलाई पुर्जा पाएपछि सम्पत्तिमाथि भोकाधिकार कायम भएको बताए । उनले क्रमशः बाँकी वडाहरुको पनि पुर्जा वितरणलाई निरन्तरता दिँदैं जाने योजना रहेको बताउँदैं स्थानीयलाई पनि छिटो भन्दा छिटो जग्गाधनी पुर्जा प्राप्तिको लागि आवेदन दिन आग्रह गरे ।

जग्गा नापजाँच ऐन २०१९ को दफा ६(५) बमोजिम नाप जाँच भई तयार भएका जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय भक्तपुरका प्रमुख मग्नु दत्तले बताए । उनले २०२१ सालमा प्राविधिक कारणले नापजाँच हुन नसकेको र परापुर्व कालदेखी हकभोग गरी बसोबास गरिरहेको जग्गालाई स्वबासी जग्गाको रुपमा परिभाषा गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस्