Logo

कुमार खड्गविक्रम शाह जोडिएको जग्गा प्रकरणले सार्वजनिक जग्गा हडप्ने त्राहीमाम



काठमाडौं, १० भाद्र । जब राज्य मजबुद भई जिम्मेवार रुपमा प्रस्तुत हुन्छ तब कुनैपनि गलत कार्य लुक्दैन । एउटा समय अवश्य आउँछ जस्ले गलत गर्नेलाई कठघरामा उभ्याउँछ । मृत्यु भइसकेको छ भने उसको सन्तान दरसन्तानलाई पिरोल्छ । कुमार खड्ग विक्रम शाहले जनकपुरको साँढे ८ बिगाहा जग्गा हडपेको विषय उनको मृत्युको २१ वर्षपछि खुल्दा तरङ्ग नै आएको छ ।

राज्यले सार्वजनिक सरकारी जग्गा शक्तिको आँडमा हडपेको प्रमाणसहित अख्तियारमा मुद्दा दायर गरेको छ । कुमार खड्ग विक्रम शाहको दरबार हत्याकाण्डमा २०५८ असोज १९ मा मृत्यु भएको थियो । तर, २१ वर्षपछि उक्त जग्गा हडपेको प्रमाण अख्तियारले पेश गरेर मुद्दा दायर गरेको छ ।

जग्गा कुमार खड्ग विक्रम शाहको नाममा छैन । उनका छोरा दिवश विक्रम शाहको नाममा केही जग्गा बाँकी छ र बाँकी विभिन्न व्यक्तिहरुको नाममा छ । उक्त जग्गा व्यक्तिको नाममा कायम गर्न संलग्न तत्कालीन सरकारी कर्मचारी मधु बस्ताकोटी, नायब सुब्बा यमुना प्रसाद पंंजियार र खरिदार जगदेव कामतीमाथि पनि मुद्दा दायर भएको छ ।

अख्तियारले दायर गरेको मुद्दाले यस्तो सन्देश गएको छ जसबाट कसैले सरकारी सार्वजनिक जग्गा हडपेको छ भने जति नै वर्षपछि भएपनि राज्यले चाह्यो भने कारबाहीको दायरामा ल्याउँछ । व्यक्तिको निधन भइसकेको हो भने पनि उसको सन्तान दरसन्तानले कारबाहीको भागिदार बन्नुपर्छ । कुमार खड्ग विक्रम शाहको मृत्यु भइसकेकाले यो मुद्दामा २९ करोड ८८ करोड ८१ लाख ४३७ रुपैयाँ बिगो दाबी गरिएको छ । उक्त बिगो शाहको सन्तानले भराउनुपर्ने गरी मुद्दा दायर भएकाले हारेमा उनका सन्तानले जिम्मेवारी लिनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्