काठमाडौं, भदौ ११ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० असोज घटस्थापनाका दिनबाट सुरु हुने बडापर्व दसैंलक्षित ५ हजार खसीबोका र च्यांग्रा ल्याउने भएको छ । जसमा २ हजार खसीबोका र ३ हजार च्यांग्रा छन् ।
दसैंमा बजार मूल्यभन्दा केही सहुलियत दरमा काठमाडौंका उपभोक्तालाई मासु आपूर्ति र बढ्दो बजारभाउ नियन्त्रण प्रयासमा सो कम्पनीले विगतका वर्षजस्तै यसपटक पनि करिब ५ हजार खसीबोका र च्यांग्रा काठमाडौं भिœयाउन लागेको हो ।
अहिलेसम्म दसैंलगायत विशेष चाडपर्वलक्षित खाद्य वस्तु आपूर्ति र व्यवस्था मिलाउने जिम्मेवारी प्राप्त सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले देशका विभिन्न स्थानबाट खसीबोका र च्यांग्रा काठमाडौं ल्याउने तयारी गरेको छ ।
सो कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार विगतका वर्षको निरन्तरतास्वरूप यसपटक पनि राजधानी भिœयाइने खसीबोका र च्यांग्रा देशका विभिन्न ठाउँबाट खरिद गरी कम्पनीका डिपोमा संकलन तयारी सुरु भएको छ ।
दसैंमा काठमाडौं ल्याइने खसीबोका र च्यांग्रा खरिदका लागि अनुमानित करिब ६ करोड बजेट छुट्याइएको छ । यसमा अझै उपभोक्ताको माग आधारमा तलमाथि वा घटबढ हुन सक्ने न्यौपाने बताइन् ।
विगतका वर्षझैं लाहान, वीरगन्ज, मुस्ताङ, दाङ, तुलसीपुर, हेटौंडा र नेपालगन्जलगायत स्थानबाट खसीबोका र च्यांग्रा ल्याउने तयारी गरिएको छ । यी ठाउँबाहेक अझै उपलब्धताका आधारमा ‘कुन ठाउँबाट कति खरिद गरी ल्याउने?’ भन्ने विषयमा गृहकार्य भइरहेको छ ।
तोकिएका ठाउँमा कम्पनीका कर्मचारीले खसीबोका खरिद गरेको र चलेकै मासुको बजारभाउअनुसार मूल्य निर्धारण हुने कम्पनीले जनाएको छ । राजधानी दैनिकबाट