Logo

अहिलेको संविधानमा धेरै त्रुटि छ, यसलाई सच्याउनुपर्छ : काफ्ले



काठमाडौं, ११ भदौ । जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्लेले अहिलेको संविधानलाई नियन्त्रणमा राखिएको र धेरै त्रुटि रहेको औंल्याएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले युवा वा पाका नेता जो भएपनि राज्य हाँक्ने हैसियत हुनुपर्ने बताए । युवाले र बुढाले जसले नेतृत्व लिएपनि हुने तर राज्यलाई सही तवरले चलाउनुपर्ने उनको भनाई छ ।

देशलाई सही तवरले चलाउनेबारे नेतृत्वसँग सही भीजन हुनुपर्ने काफ्लेको भनाई छ । उनले अहिलेको संविधानले धेरै मानिस आउन्, सहभागिता जनाउन् भन्ने खालको सोच र दृष्टिकोण नराखेको गुनासो पोखे । उनले संविधानमा थुप्रै त्रुटि रहेको भन्दै यसलाई सच्याउन जरुरी रहेको पनि बताए ।

अहिले सत्तासिन दलबाट जनता झुक्याउने काम भएको टिप्पणी गरे । संविधानमा धर्मनिरपेक्षताबारे गरिएको व्याख्याबारे पनि उनको आपत्ति छ । संविधान नै गडबड भएपछि कसरी सही दिशामा देश अघि बढ्छ त ? भन्दै उनले प्रश्न उठाए ।

संविधान गलत भएपछि रोडम्याप नै गलत ढंगले बन्ने उनको भनाई छ । एमसिसी गलत थिएन भने व्याख्यात्मक टिप्पणी किन गरियो ? भन्ने उनको अर्को प्रश्न थियो । काफ्लेले आफ्नो पार्टीले सामाजिक, आर्थिक, सांस्कृतिक पक्षलाई समेटेर नयाँ भीजन ल्याएको र यसले देशलाई समृद्ध बनाउने जिकिर गरे ।

 



प्रतिक्रिया दिनुहोस्