Logo

गठबन्धनका दलहरुलाई गलहत्याउन मिल्दैन, शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्न सक्नुहुन्छः कांग्रेस नेता



काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका नेता श्याम घिमिरेले सत्ता गठबन्धनका दलहरुलाई गलहत्याउन नमिल्ने बताएका छन् । “हाम्रो चाहनाले मात्र वैकल्पिक सरकार सम्भव थिएन । केपी शर्मा ओलीकै दलबाट फुटेर आएको नेकपा (माओवादी केन्द्र), माधव नेपालको नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको सहभागिता र बलजोडमा यो सरकार बनेको हो । अहिले हामीले गलहत्याएर निकाल्न मिल्छ ? यति कृतघ्न हुन मिल्छ ?” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले भने ।
नेपाली कांग्रेसले ओलीसँग डराएर गठबन्धन नगरेको पनि घिमिरेले औंल्याए । उनले थपे, “केपी ओलीसँग कांग्रेसलाई केको डर ? हामीले राजनीतिको धर्म निर्वाह गरेको हो, ओलीसँग नडराएको हो । गठबन्धन अहिलेको राष्ट्रिय आवश्यकता र बाध्यता दुवै हो ।”
घिमिरेले आफ्नो दलमात्र नभएर सबै दललाई मिलाएर लैजाने क्षमता प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवामा मात्र भएको पनि बताए । उनले भने, “पब्लिक खपतका लागि भन्नु एउटा कुरा हो । आन्तरिक कुरा अर्कै हो । कसले के भन्यो भन्ने कुरा छाडिदिनुस् । अहिले सबै दललाई मिलाएर लान सक्ने क्षमता देउवामा छ, त्यो अरु कसैसँग छैन । पार्टीलाई मिलाउन नसक्ने कुरै छैन । जसरी पनि कुरा मिल्छ ।
यस पटक समानुपातिक सांसद नदोहोरिने पनि उनले बताए । उनले भने, गत निर्वाचनमा सुजाता कोइरालाको स्वास्थ्य स्थिति हेरेर अवपादमा राखिएको थियो । त्यसका आधारमा अरु केही केही साथीहरु पनि घुस्नुभयो । यसपटक समानुपातिक सांसद दोहोरिँदैनन् । सबैलाई अवसर प्राप्त होस् भनेर यस्तो निर्णय भएको हो ।”
गत निर्वाचनमा हारेका उम्मेदवारले टिकट पाउने पनि उनले बताए । घिमिरेले थपे, “हारेका मान्छेले किन टिकट नपाउने ? गत निर्वाचनको गठबन्धनका कारण हाम्रा धेरै सिनियर नेताहरुले चुनाव हार्नुभयो । प्रत्यक्ष भनेको निर्वाचन जितेर आउनुपर्छ । जित्न सक्नेलाई प्राथमिकतामा राख्नुपर्छ ।”
आगामी प्रधानमन्त्रीका सम्बन्धमा पार्टीले कुनै निर्णय नगरेको पनि उनको भनाइ छ । घिमिरेले भने, “पार्टीमा प्रधानमन्त्री बन्ने निश्चित प्रक्रिया र पद्धति छ । संसदीय दलको नेतामा जो विजयी हुन्छ, उही प्रधानमन्त्री हुन्छ ।” उनले शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्न सक्ने पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot