Logo

मुलुकले फेरि पनि केपी शर्मा ओलीको नेतृत्व खोजेको छः प्रदीप ज्ञवाली



काठमाडौं, १३ भदौ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उमेर र अनुहारभन्दा पनि मुद्दाका आधारमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको बताएका छन् ।
“मुलुकमा राजनीतिक स्थायित्व र समृद्धि चाहिएको छ । दुईचोटि प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले देश बनाउन सकिन्छ भन्ने सपना देखाउनुभयो । अब त्यसलाई कार्यान्वयन गर्न देशले फेरि एकचोटि उहाँको नेतृत्व खोजेको छ । नयाँ भनेको उमेरमात्र होइन, भिजन र संकल्प हो । अब व्यक्ति, अनुहार र उमेरतिर नजाऔं, मुद्दामा केन्द्रित हौं,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता ज्ञवालीले भने ।
उनले केपी शर्मा ओली बहुमतको प्रधानमन्त्री ल्याउने डरले गठबन्धन बनेको आरोप पनि लगाए । ज्ञवालीले थपे, “मानौं, मंसिर ४ मा गठबन्धन दलहरुले बहुमत पाउलान् तर प्रधानमन्त्रीमा कुन नयाँ अनुहार आउँछ ? त्यसैले मुख्य प्रश्न मुद्दा हो । अहिले गठबन्धनमा बाबुराम भट्टराई, बामदेव गौतम थपिएका छन् । लोसपा पनि थपिँदा आठ दल हुन्छ । एमाले ठूलो पार्टी बन्छ, ओली प्रधानमन्त्री हुन्छन् भनेर न गठबन्धन हुन लागेको हो ।”
गठबन्धन दलका नेताहरुमा प्रधानमन्त्री बन्नेबाहेक कुनै भिजन नभएको पनि ज्ञवालीले औंल्याए । उनले भने, “कुनै ज्योतिषीले हात हेराएको भरमा सातचोटि प्रधानमन्त्री बन्ने, कम्तीमा ६–६ महिना भए पनि प्रधानमन्त्री खाने, सत्ता आलोपालोका लागि विदेशी भूमिमा गएर सहमति गर्ने सोचले देशलाई के हुन्छ ? त्यसैले नेकपा एमाले एकल शक्तिका साथ लड्छ र जित्छ ।”
एमाले उपमहासचिव ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सरकार गम्भीर हुनुपर्ने पनि बताए । उनले भने, “शान्ति सम्झौता भएको १६ वर्ष भयो । आयोग बने । तर तिनले किन काम गर्न पाएनन् ? सदनको समय सकिने बेला किन आयो ? तत्कालीन द्वन्द्रत पक्ष त मिलेर खाइरहेकै छन् । तर सर्वोच्च अदालतको फैसलासँग मिल्यो कि मिलेन ? पीडितको सरोकार मिल्यो कि मिलेन ? कम्तीमा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालमा दण्डहीनता छ, जघन्य अपराधलाई ढाकछोप गर्छ भन्ने नहोस् । शान्ति प्रक्रियालाई विश्वसनीय ढंगले टुंग्याउनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्